काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले समावेशी तथा पहिचानको पक्षमा भएका आन्दोलनको नेतृत्व नेकपा एमालेले गरेको दाबी गरेका छन्। बिहीबार लोकतान्त्रिक आदिवासी जनजाती महासंघले च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालले भाषा, धर्म, जाती र समुदायको हितमा व्यवहारमै देखिने गरी काम गरेको दाबी गरे।
उनले भने ‘ढुक्क सँग, छाती फुकाएर, शिर ठाडो पारेर हामीले भने हुन्छ समावेशिताको पहिचानको यी सम्पूर्ण आन्दोलन अभियानको नेतृत्व एमालेले गर्छ, गरेको छ । यसमा कुनै पनि तुलाना हुन सक्दैन्।’ भिन्न–भिन्न जाती,भाषा,धर्म,समुदायका जनताको हितमा एमालेले दृढतापूर्वक उभिएको भन्दै उनले पहिचान र समावेशीताको पक्षमा सर्तबन्दी नगर्ने तर्क गरे। उनले भने, ‘नेकपा एमाले सर्तबन्दी गर्दैन,यो देशका विविध भाषा, धर्म, जाती समुदायका जनताको हितमा नेकपा एमाले जहिले सुकै दृढतापूर्वक उभिएको छ। आउने दिनहरुमा पनि दृढतापूर्वक उभिन्छ। यसले आफ्नो व्यवहारबाट काम कारवाहीबाट यो कुरा स्थापित गरेको छ ।’
त्यस्तै उनले नेकपा एमालेकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रदेखि धर्म निरपेक्षता र समावेशीता सहितको संविधान निर्माण गरिएको र पार्टीले पनि सबैलाई एकताबद्ध बनाएर लगेको जिकिर गरे। ‘धर्म निरपेक्षता कसको नेतृत्वमा घोषणा भयो, आयोगको महासन्धि अघि चर्चा चल्दै थियो कसको नेतृत्वमा नेपालले त्यसलाई अनुमोदन गर्यो, आदिवासी जनजाति सम्बन्धी घोषणा पत्रमा कसको भूमिका छ ? हाम्रो नेतृत्व पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता सहितको समाजवाद उन्मुख संविधान जारी भयो । अब हामीले अरु धेरै भनिरहनु पर्छ र? त्यसलाई कार्यान्वयन गर्नका लागि हामी लाग्यौ।’ उनले भने। आदिवासी जनजातिको मुद्दामा एमालेले जति काम कसैले नगरेको उनको दाबी छ।
‘किँरातहरुको महागुरु फाल्गुनन्दलाई हाम्रो नेतृत्व, पहल र प्रयासमा राष्ट्रिय विभुति बनायौं । यति भइसकेपछाडि यो देशलाई सबै जाती, भाषा, धर्म,समुदायका जनतालाई एकताबद्ध बनाएर अगाडि बढ्ने कुरामा एमालेले जत्तिको योगदान आउने दिनमा कसैले गर्न सक्दैनन्। किनभने धेरै महत्वपूर्ण काम हामीले गरिसकेका छौं,’ उनले भने।
