काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड नियमित भेटघाटका क्रममा राष्ट्रपति कार्यालय पुगेका थिए।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा राष्ट्रपति पौडेलले संसद्को गतिरोध, सुन तस्करी प्रकरणलगायत विषयबारे चासो व्यक्त गरेको बताइएको छ। राष्ट्रपतिले संसद्मा देखिएको अवरोध छिटो हटाउनुपर्नेमा प्रधानमन्त्रीलाई सुझाएको स्रोतले बताएको छ। सुन तस्करीबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ।
भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले संघीय शिक्षा ऐन, संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंग्याउनसमेत प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको शीतलनिवास स्रोतले बताएको छ। लगातार संसद् अवरोध भएको विषयबारे बुझ्न राष्ट्रपति पौडेल र सभामुख देवराज घिमिरेबीच शुक्रबार बिहान १० बजे शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ।


