चीनको हनान प्रान्तस्थित बोआओमा ‘बोआओ फोरम फर एसिया’ सुरु भएको छ। मंगलबार सुरु भएको फोरममा ५० भन्दा बढी देश र क्षेत्रका दुई हजार प्रतिनिधि सहभागी भएका छन्।
सम्मेलनमा ४० देश र क्षेत्रका एक सय ७० भन्दा बढी सञ्चारगृहका एक हजार एक सयभन्दा बढी पत्रकार पनि सहभागी भएका फोरमका महासचिव ली बाओडोङले बताएका छन्।
कोभिड–१९ को महामारीपछि भौतिक रूपमा सहभागीहरू फोरममा पहिलोपटक उपस्थित भएका हुन्। फोरममा अनिश्चित विश्व र चुनौतीका बीच विकासका लागि एकता र सहयोग विषयमा हुने यो बैठकमा विकास, समावेशिता, सुरक्षालगायत विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ।
राष्ट्र–राष्ट्रबीच सहयोग र एकता प्रवद्र्धन गर्दै क्षेत्रीय आर्थिक एकीकरण, खुलापन एवम् समावेशी विकासलाई केन्द्रमा राखेर यो वर्षको सम्मेलन आयोजना गरिएको महासचिव लीले बताएका छन्। एसियाली मुलुकहरूलाई उनीहरूका विकासका लक्ष्य प्राप्तीमा सघाउन सम्मेलन फलदायी हुने विश्वास उनले व्यक्त गरे।

