काठमाडौं–आज १२ अगस्त। विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो। सरकारले बर्सेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरु बताउँछन्। युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृत सम्बोधन हुन नसकेको गुनासो छ।
सरकारले युवा विकास तथा परिचालनका लागि २०६५ मा युवा तथा खेलकुद मन्त्रालय गठन गरेको थियो। यस्तै पहिलो पटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरिएको थियो। युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ।
राष्ट्रिय युवा नीति २०७२ र यूथ भिजन २०२५ ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ। यस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन्।
प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन्। प्रदेश स्तरमा लुम्बिनी, बागमती र सुदूरपश्चिममा युवा परिषद् गठन गरिएको छ। यद्यपि अझै पनि युवाका मुद्दा किन सम्बोधन हुन सकिरहेको छैन?
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत युवाको विकासका लागि लक्षित गरी बनेका ऐन र नीति कार्यान्वयन हुन नसकेको गुनासो गर्छन्। यस क्षेत्रका लागि विभिन्न कार्यक्रम बने पनि ती सबैमा बजेट अभावका कारण कार्यान्वयनमा समस्या देखिएको उनको बुझाइ छ।
‘युवासँग सम्बन्धित नीति कार्यान्वयनका लागि बजेटको उपलब्धता अन्त्यन्तै सीमित छ। त्यसैले योजना कार्यान्वयनमा कठिन भइरहेको छ’, उनले भने, ‘युवा सशक्तीकरण, आत्मनिर्भर र स्वरोजगार बनाउन राज्यले जुन मात्रामा प्रथामिकता दिनुपर्ने हो, त्यो अझै पुग्न सकेको छैन।’ उनले राज्यले पनि युवालाई प्राथमिकतामा राख्न नसकेको बताए।
युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन्।
नेपालमा भने युवासँग काम गर्ने संघ–संस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो। परिषद्कै अगुवाइमा २०७३ देखि युवा दिवस मनाउन थालिएको हो।
राष्ट्रिय युवा संघ अध्यक्ष क्षितिज थेवेले युवाका क्षेत्रमा माग गरिएका संरचना र कानुन बने पनि योजना कार्यान्वयनमा समस्या रहेको बताए। नयाँ नेपाल बनाउने हो भने पहिलो शक्ति नै युवा भएकाले राज्यले युवामैत्री गतिविधि सञ्चालन गर्नुपर्ने उनको सुझाव छ। युथ भिजन २०२५ र युवा स्वरोजगार कोष कार्यान्वयनमा पनि समस्या देखिएको उनको बुझाइ छ।
तरुण दलका नेता जनक चटौतले युवालाई नीति निर्माणको तहमा पु¥याउन नसक्दा अपेक्षाकृत सफलता हासिल हुन नसकेको बताए। युवामैत्री राजनीतिक दलको संरचना बनाएर युवालाई नीति निर्माणको तहमा पुर्याउन आवश्यक रहेको उनी बताउँछन्।
योङ कम्युनिस्ट लिग (वाइसिएल)का महासचिव गणेश शाहीले युवा लक्षित नीति कार्यान्वयनमा सरकारी निकायले प्रभावकारी कार्यान्वयन गर्न नसक्दा युवामा मुद्दा जस्ताको तस्तै रहेको बताए। अहिले पनि युवाका मुद्दा कार्यान्वयन गर्न राज्य अलमल भइरहेको उनको भनाइ छ। नेपाल युवा संस्था सञ्जाल (आयोन)का अध्यक्ष विकल राईले युवाका समस्या समाधानका राज्यको ध्यान जान नसकेको बताउँछन्।
युवा उद्यमशीलता वर्ष
सरकारले यस वर्ष युवा उद्यमशिलाताको वर्ष घोषणा गरेको छ। तर, ठोस कार्यक्रम भने अझै नआएको परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतको भनाइ छ। ‘संघ, प्रदेश र स्थानीय तह तीनवटै सरकारले समन्वय गरेर युवालाई उद्यमशीलतातर्फ लैजानु पर्दछ। त्यसका लागि सहुलितयपूर्ण कर्जा र वित्तीयरुपमा साक्षर बनाउन आवश्यक छ’, उनले भने।
कार्यकारी उपाध्यक्ष बस्नेतले युवालाई उद्यमशिलतातर्फ लैजानका लागि सबै प्रदेशमा नवप्रवर्तन तथा इनोभेसन सेन्टर स्थापना गर्नुपर्ने बताउँछन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार युवाको जनसंख्या ४२.५६ प्रतिशत पुगेको छ। त्यस्तै, प्रतिनिधिसभामा १२ प्रतिशत, प्रदेश तहमा २० प्रतिशत र स्थानीय तहमा ४१ दशमलव १४ प्रतिशत जनप्रतिनिधि युवा छन्। परिषद् उपाध्यक्ष बस्नेत छरिएका युवाका लक्षित कार्यक्रमलाई एकीकृत ढंगले लैजान आवश्यक रहेको बताउँछन्। अहिले १४ वटा मन्त्रालयमा युवा लक्षित कार्यक्रम रहेको उनको भनाइ छ।
