काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमध्येको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन २५ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गर्दै छन्।
प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्रको भागमा परेको मन्त्रालय सम्हालिरहेका एक मन्त्रीलाई हटाएर सीके राउत नेतृत्वको जनमतलाई सहकारमा सहभागी गराउन लागेका हुन्।
माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी प्रधानमन्त्रीको छ। जनमतले गत २६ असारमै अनितादेवीको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको बुझिएको छ। तर, त्यसको भोलिपल्ट २७ असार बिहान प्रधानमन्त्री प्रचण्डपत्नी सीताको निधन भएपछि मन्त्री नियुक्ति रोकिएको थियो।
सत्तारुढ गठबन्धनका दलबीच प्रधानमन्त्री पार्टी नेकपा माओवादी केन्द्रकै कोटामा जनमतबाट मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको थियो। प्रधानमन्त्री प्रचण्डले संघीय मामिला हेर्ने अमनलाल मोदी र पर्यटनमन्त्री सुदन किरातीमध्ये एक जनालाई हटाउने तयारी गरिरहेको स्रोतले बताएको छ। हाल माओवादी केन्द्रबाट सरकारमा ६ मन्त्री र एक राज्यमन्त्री छन्।
खानेपानी मन्त्रालयमा चित्त नबुझेर गत १७ चैतमा प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएर बाहिरिएको जनमत पार्टी जुनसुकै मन्त्रालय दिए पनि फेरि सरकारमा जान सहमत भएपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो।
गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरे पनि नदिइएपछि चैतमा बाहिरिएको थियो। जनमतबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले १७ चैतमा राजीनामा दिएका थिए।


