गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस्तो बिन्दुमा आइपुगेका छन्, जसले आफ्नै दलका उच्च तहका नेता कृष्णबहादुर महराबारेको विवाद निरूपण नगरी नहुने छ। माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल ९ किलोग्राम (केजी) सुनको अवैध धन्दाको संशयमा परेपछि उनीहरूबारे अनुसन्धान हुनुपर्ने आवाज पेचिलो बनिरहेको छ। मिडियामा निरन्तर रूपमा रिपोर्टहरू प्रकाशन तथा प्रशारण भइरहेका छन्। नेता महरा र उनका छोराबारे अनुसन्धान गरियोस् भन्दै सामाजिक सञ्जालमा आफ्नो मत राख्नेहरूको संख्या बढिरहेको छ।
राजस्व अनुसन्धान विभागले साउनको पहिलो साता हङकङबाट बाइक तथा स्कुटरको ‘ब्रेक-शू’का रूपमा ल्याइएको एक क्विन्टलभन्दा बढी सुन बरामद गरेपछि यसबारे अनुसन्धान चलिरहेको छ। विभागले एक तहको अनुसन्धान गरेर यो विषय अहिले नेपाल प्रहरीलाई सुम्पिएको छ। प्रहरीले यसबारे अनुसन्धान जारी रहेको बताइरहेको छ। तर चिनियाँ नागरिक ली हानसोङले २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएको प्रकरणको अनुसन्धान र यसको कारवाहीबारे पनि सँगसँगै प्रश्नहरू सतहमा आएका छन्। उक्त ९ केजी सुनबारे भएको अनुसन्धानले माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुललाई पनि पर्याप्त रूपमा शंकाको घेरामा राखेको छ। त्यसैले अनुसन्धानलाई पूर्णता दिन पनि उनीहरूबारे छानबिन हुनुपर्ने माग अहिले चौतर्फि रूपमा उठिरहेको छ।
प्रहरी अनुसन्धानले के देखाएको छ भने डेढ महिनाभन्दा बढी समय भन्सारमा थन्किएको भेपको रूपमा रहेको ९ केजी सुन छुटाउन त्यहाँका कर्मचारी, गिरोहका सदस्य र बिचौलियाहरूले चलखेल गरेका थिए। उनीहरूले बजारबाट नयाँ सामान किनेर ल्याएर सुन राखिएका भेप अदलबदल गरेका थिए। यो काममा महराका बाबुछोरा र सुन तस्करीमा संलग्न चीनियाँ नागरिकबीच पटक-पटक फोनमार्फत संवाद भएको अनुसन्धानले पुष्टि गरेको छ।
सदनमा उभिएर होस् या बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दा होस्, प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठले कुनै पनि अपराधको अनुसन्धान र अभियोजनमा आफूहरूले हस्तक्षेप नगर्ने बताइरहेका छन्। तर सुन प्रकरणमा महरा संशयको यति बाक्लो बादल मडारिँदा पनि यसबारे उनीहरू मौन र उदासीन देखिएका छन्।
९ केजी सुन प्रकरणमा सुक्ष्म अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले तयार पारेको प्रतिवेदनमा स्पष्टसँग नेता महरा परिवार र सुन तस्करबीच घनिष्ठ सम्बन्ध स्थापित रहेको तथ्य संकेत गरिएको मिडिया रिपोर्टहरूले देखाउँछन्। पछिल्ला दिनमा मिडियामा आएको जानकारीअनुसार कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको देखिन्छ। सुन तस्कर दाओजिन वाङसँग महराको ११ पटक फोन सम्पर्क भएको देखिन्छ। सुन तस्करसँग महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिन्छ। राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ।
सुन तस्करहरूसँग महरा परिवारको यो तहको सम्पर्कले सुनको अवैध धन्दामा राजनीतिक ‘कनेक्सन’बारे गाढा संशय पैदा गर्नु अस्वाभाविक होइन। मूलतः माओवादी नेता महरा र उनका छोरा राहुललाई अनुसन्धानकर्ता नेपाल प्रहरीले ‘क्लोज लेन्स’भित्र राखेको थियो। शंकाको यो बादल छिचोल्ने जिम्मेवारीमा अहिले प्रधानमन्त्री प्रचण्ड र उनकै दल माओवादीबाट प्रतिनिधित्व गर्ने नारायणकाजी श्रेष्ठ गृहमन्त्री छन्।
सदनमा उभिएर होस् या बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दा होस्, प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठले कुनै पनि अपराधको अनुसन्धान र अभियोजनमा आफूहरूले हस्तक्षेप नगर्ने बताइरहेका छन्। तर सुन प्रकरणमा महरा संशयको यति बाक्लो बादल मडारिँदा पनि यसबारे उनीहरू मौन र उदासीन देखिएका छन्। झन्डै ८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर सीआईबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान हुँदा पनि थप अनुसन्धान नहुनु लज्जापद छ। यसले प्रचण्ड सरकारलाई प्रश्नको घेरामा उभ्याइदिएको छ। कथनी र करनीबीचको एउटा गहिरो अन्तरद्वन्द्वको भासमा फसाइदिएको छ।
महरा बाबुछोरालाई पक्राउ गरेर नै अनुसन्धान गर्न जरुरी छ। अनुसन्धान गर्ने निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिन जरुरी छ। यदि त्यस्तो भएन भने प्रचण्ड सरकारको सुशासनको गफ कहिल्यै कसैले पत्याउने छैन।
अनुसन्धानका क्रममा र त्यसपछि पनि प्रहरीका उच्च अधिकारीहरूले सुन तस्करी र महरा परिवारको संलग्नताबारे प्रधानमन्त्री रहेका प्रचण्ड र गृहमन्त्री श्रेष्ठसँग कुराकानी गरेको मिडियाहरूको दाबी छ। कुराकानीमा स्वयं प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठले महरा परिवारको अनुसन्धानबारे अनिच्छा प्रकट गरेपछि उनीहरूलाई जोगाइएको दाबीसमेत मिडिया रिपोर्टहरूको छ। यदि यस्तो भने प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठमाथि नैतिक प्रश्न मात्र उठ्दैन, कालान्तरमा यही कुरा शासकीय अपराधको एउटा अनुक्रम र उदाहरण बन्नेछ।
ललिता निवासको जग्गा र नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले देखाएको सक्रियतालाई एक हदसम्म सबैले प्रशंसा गरिरहेकै थिए। ललिता निवास जग्गा प्रकरणमा सत्ताधारी सहयात्री माधवकुमार नेपाल र पूर्वसहयात्री डा बाबुराम भट्टराईबारे अनुसन्धान गर्न सर्वोच्च बाटो खुलाइदिएको अवस्था छ। सँगसँगै आफ्नै उपाध्यक्ष कृष्णबहादुर महराको सुन कनेक्सनबारे यति पेचिलो र गह्रुँगो प्रश्न प्रधानमन्त्री प्रचण्डसामु उभ्भिएको छ। सबैलाई चासो छ, उनले यो प्रश्न र सन्दर्भमा आफूलाई कत्तिको जवाफदेही र उत्तरदायी बनाउलान्?
यदि प्रधानमन्त्री र गृहमन्त्रीले आफूलाई विधिको पूजक, जनउत्तरदायी प्रतिनिधि र लोकको नेता ठान्ने हो भने, तुरुन्तै कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि थप अनुसन्धान गर्न जरुरी छ। त्यो पनि ‘सफ्ट इन्भेस्टिगेसन’ होइन, पक्राउ गरेरै अनुसन्धान गर्न जरुरी छ। अनुसन्धान गर्ने निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिन जरुरी छ। यदि त्यस्तो भएन भने प्रचण्ड सरकारको सुशासनको गफ कहिल्यै कसैले पत्याउने छैन।


