काठमाडौँ- नेपाल टेलिकमले सीडीएमए फिक्स्ड फोन (सी-फोन) प्रयोगकर्ताहरुलाई फोरजी/एलटीई नेटवर्कमा स्थानान्तरण गर्न आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ। २०८० भाद्र १ देखि प्याकेज उपलब्ध गराइने नेपाल टेलिकमले जानकारी दिएको छ।
सीडीएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकहरुले नेपाल टेलिकमको नमस्ते वाईफाई प्रयोग गर्न सक्नेछन्। ती ग्राहकका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियममध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधा छ।
सो सेवा प्रयोग गर्ने ग्राहकलाई अनलिमिटेड बेसिक अन्तर्गत दैनिक रुपमा ५ एमबीपीएस गति सम्मको १० जीबी डाटा उपलब्ध हुनेछ। सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि रु. ५ हजार ९९९ र वार्षिक अवधिका लागि रु. १० हजार ४९९ हुनेछ। त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि रु. ४ हजार ९९९ र वार्षिक अवधिका लागि रु. ९ हजार ४९९ हुनेछ।
अनलिमिटेड प्रिमियम अन्तर्गत दैनिक रुपमा १० एमबीपीएस गति सम्मको १५ जीबी डाटा उपलब्ध हुनेछ। सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि रु. ८ हजार ९९९ र वार्षिक अवधिका लागि रु. १६ हजार ४९९ हुनेछ। त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि रु. ७ हजार ९९९ र वार्षिक अवधिका लागि रु. १५ हजार ४९९ हुनेछ।
यी सबै प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजी/एलटीई सीपीईसमेत उपलब्ध गराइने छ।
नयाँ जडान अन्तर्गत यसरी अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्क भित्र (अन–नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्क भित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुनेछ।
यसरी उपलब्ध हुने १० जीबी वा १५ जीबी डाटा सकिएको अवस्थामा उच्च गतिको डाटा चलाउन चाहनेहरुका लागि रु. ५० मा २४ घण्टा समयावधि सम्म चलाउन मिल्ने १० जीबी डाटा एड अन प्याकको रुपमा उपलब्ध हुनेछ।
नेपाल टेलिकमले पहिले देखि नै सीडीएमए प्रिपेड वा पोस्टपेड प्रयोगकर्तालाई जीएसएम प्रिपेड वा पोस्टपेडमा रुपान्तर हुँदा ‘सीडीएमए माइग्रेसन प्याकेज’ उपलब्ध गराइरहेको छ। यदि सीडीएमए फिक्स्ड फोन प्रयोगकर्ताहरुले माथिको प्याकेज लिन नचाहेमा सोही अनुसारको सीडीएमए माइग्रेसन प्याकेज लिन सकिने छ। यस अन्तर्गत प्रिपेड ग्राहकलाई मासिक रुपमा ३०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुनेछ।
त्यसैगरी पोस्टपेड ग्राहकलाई मासिक रुपमा ४०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ५० मिनेट अफ–नेट भ्वाइस कल गर्न, ६ जीबी डाटा चलाउन र २०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुनेछ।
प्रविधिको विकाससँगै नयाँ प्रविधिले पुरानो प्रविधिलाई प्रतिस्थापन गर्ने विश्वव्यापी लहरलाई पछ्याउँदै टेलिकमले गत २०८० असार मसान्तदेखि सीडीएमए सेवा बन्द गरेको छ।


