२५ वर्षपछि बलिउड सुपरस्टार सलमान खानले करण जौहरको फिल्ममा काम गर्ने भएका छन्। ‘कुछ कुछ होता है’ पछि सलमानले जौहरसँग सहकार्य गर्न लागेका हुन्। जौहरको प्रडक्सनमा बन्ने यो फिल्मलाई ‘शेरशाह’का निर्देशक विष्णु वर्धनले निर्देशन गर्नेछन्।
जुन फिल्मको मुख्य पात्रकारुपमा सलमानलाई देख्न सकिनेछ। सलमानको यो फिल्म नोभेम्वरमा फ्लोरमा जाने बताइएको छ। आगामी वर्षको क्रिसमसका अवसरामा फिल्म रिलिज हुने बलिउड हंगामाले जनाएको छ।
सलमान बन्नेछन्, आर्मी अफिसर
यो फिल्म सेनाको पृष्ठभूमिमा आधारित हुनेछ। निर्देशक विष्णु वर्धनको ‘शेरशाह’ दर्शकले निकै रुचाएका थिए। केही सैनिक अधिकारका परिवार र सेनाका अधिकारीले समेत कारगिल युद्धमा आधारित यो फिल्मलाई मन पराएका थिए। उनको आगामी फिल्म पनि सेनाकै विषयमा आधारित हुनेछ।
सलमानले समेत फिल्मका लागि तयारी थालेका छन्। उनले आर्मी हेयरकट बनाइसकेका छन्। उनी भारतीय सेनाको अधिकारिकारुपमा अभियान गर्ने विषयले निकै उत्साहित रहेको बताइएको छ। यो फिल्मको नाम भने तय भइसकेको छैन।


