काठमाडौँ- स्व.जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने भएको छ। गीतसङ्गीतका माध्यमबाट राजनीतिक परिवर्तनमा सहयोग पुर्याएका जेबीलाई जनगायक उपाधि प्रदान गर्ने निर्णय गरेको हो।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
२००१ कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे)ले गाएका ‘बसाइँ हिंड्नेको ताँतीले’, ‘आमा दिदीबैनी हो’ जस्ता गीतहरु लोकप्रिय बनेका थिए।
२०२० को दशकदेखि कम्युनिस्ट विचारधारासँग नजिक भएका जेबी टुहुरेले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए।
उनको २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो।


