काठमाडौं– छिमेकी युक्रेनमा सैन्य आक्रमण गरेर विश्वभरबाट एक्लिएका रुसी राष्ट्रपति भ्लादमिर पुटिनका दाहिना हात मानिने यवगेनी प्रिगोजिन विमान दुर्घटनामा मारिएको आशंका गरिएको छ। यद्यपि विमान दुर्घटना स्वाभाविक नभएको कतिपय अन्तर्राष्ट्रिय सञ्चार माध्यममले उल्लेख गरेका छन्।
रुसमा केही समयअघि सरकारविरुद्ध असफल सैन्य विद्रोह गरेपछि राष्ट्रपति पुटिनसँगको सम्बन्ध तोडिएसँगै प्रिगोजिन सार्वजनिक रुपमा खासै देखा परेका थिएनन्। बुधबार मात्रै वागनर समूह अफ्रिका मिसनमा हिँडेको भनेर उनले केही समय पहिलाको भिडियो सार्वजनिक गरेका थिए।
रुसको राजधानी मस्कोबाट सेन्ट पिटर्सवर्ग गइरहेको एउटा जहाज बुधबार राती दुर्घटनाग्रस्त भएको र त्यसमा येवगेनी प्रिगोजिन पनि सवार रहेको रुसी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिनसहित १० जना सवार विमानमा कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले बताएका छन्।
रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यद्यपि वागनर प्रमुख सवार विमान दुर्घटनाग्रस्त नभएको नभई खसाइएको केही सञ्चार माध्यमले दाबी गरेका छन्।
लागूऔषध, हत्या अभियोगजस्ता सजाय पाएर रुसमा जेल बसेका आपराधिक व्यक्तिको भिजलान्ते समूह बटुलेर राष्ट्रपति पुटिनले निजी सैन्य समूह वागनर सञ्चालन गर्दै आएका छन्। पुटिनविरुद्ध विद्रोह गर्न मस्को पुग्नै लाग्दा छिमेकी बेलारुसको मध्यस्थतामा सम्झौता भएपछि वागनर सैन्य प्रमुख सार्वजनिक रुपमा देखा परेका थिएनन्।
प्रिगोजिन सवार विमान रुसको तेवेर सहरमा दुर्घटना भएको हो। वागनर भाडाका सैनिकको समूह हो। रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ।–एजेन्सी


