जर्जिया (अमेरिका)- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन्। शुक्रबार जर्जियाको फुल्टन काउन्टी जेल पुगेर ट्रम्पले आत्मसपर्पण गरेका हुन्। सन् २०२० को राष्ट्रपति निर्वाचन हार्ने निश्चित भएपछि आपराधिक क्रियाकलाप गरी परिणाम उल्ट्याउने प्रयास गरेको अभियोगमा ट्रम्पले आत्मसमर्पण गरेका हुन्।
ट्रम्पले अमेरिकालाई जालसाजी गर्न षड्यन्त्र गरेको, राजकीय प्रक्रिया रोक्न षड्यन्त्र गरेको, राजकीय प्रक्रिया रोकेको/रोक्न खोजेको र अमेरिकी नागरिकको अधिकारविरूद्ध षड्यन्त्र गरेको आरोप लागेको थियो।
जेलबाट मुक्त हुनका लागि उनले २ लाख अमेरिकी डलर तिर्नुपरेको थियो। जेलबाट मुक्त हुन धरौटी रकम तिर्नुपरेपछि उनले आफूमाथि ठूलो षड्यन्त्र भएको र नागरिकका रूपमा आफूले पाउनुपर्ने न्यायमाथि कुठाराघात भएको जिकिर गरेका थिए।
पछिल्लो ५ महिनामा मात्र उनी ४ पटक पक्राउ परेका थिए। ट्रम्पले यसरी अदालतमा आत्मसमर्पण गरेको पनि यो चौथो पटक हो। जेलबाट मुक्त भएपछि ट्रम्पले सामाजिक सञ्जाल एक्स (ट्विटरको नयाँ नाम)मा लेख्दै निर्वाचनमा धाँधली गरेको विषयमा कहिल्यै पनि आत्मसमर्पण नगर्ने उल्लेख गरेका छन्। सन् २०२१ को जनवरी महिनापछि पहिलो पटक उनी ट्विटरमा लेख्नका लागि आएका हुन्। राष्ट्रपति पदबाट मुक्त भएपछि उनले पहिलोपटक ट्विट गरेका हुन्।
https://t.co/MlIKklPSJT pic.twitter.com/Mcbf2xozsY
— Donald J. Trump (@realDonaldTrump) August 25, 2023
ट्रम्पको जेलमा राखिने आधिकारिक तस्बिर (मगसट) पनि सार्वजनिक भएको छ। बीबीसीका अनुसार अमेरिकी इतिहासमा पूर्वराष्ट्रपतिको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो।
अमेरिकाको इतिहासमा चुनावी नतिजा उल्ट्याउन प्रयास गरेको अभियोग पूर्वराष्ट्रपतिमाथि लागेको यो पहिलो घटना हो।
ट्रम्पविरूद्ध पूर्वपोर्न स्टारसँगको सम्बन्धलाई लुकाउन पैसा दिएको, राष्ट्रपति कार्यालयका राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य दस्तावेज आफैँसँग राखेकोलगायत विषयमा पनि अनुसन्धान भइरहेको छ।
सन् २०१६ मा अमेरिकाको राष्ट्रपति निर्वाचित भएका ट्रम्प सन् २०२० मा पनि रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका थिए। ट्रम्पलाई डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले पराजित गरेका थिए। चुनावमा हारेपनि ट्रम्पले आफ्नो पराजयलाई सहजै स्वीकारेका थिएनन्।
सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल हिलमा चुनावी नतिजाको औपचारिक घोषणा हुने दिन ट्रम्पका समर्थकहरूले हिंसा भड्काएका थिए। उक्त घटनामा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।
