काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जेबी टुहुरे क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताएका छन्। आइतबार दिउँसो जनगायक जेबी टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘जनबोलीका अविश्रान्त गायक’को लोकार्पण कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘प्रचण्ड’ले टुहुरेको योगदानको कदर गर्दै सरकारले उनलाई जनगायकको उपाधि दिएको बताए।
‘जेबी टुहुरे नेपालको प्रगतिवादी साहित्यिक एवं सांगीतिक आन्दोलनको एक सिद्धहस्त नेता, राजनीतिक सामाजिक रूपान्तरणका एक अविचलित अभियात्री र जनताका पीरमर्का, दुखव्यथा, सामन्ती एकात्मक पितृसत्तात्मक सत्ताले जनतामाथि गरेको उत्पीडन र त्यसका विरूद्ध विद्रोहचेत पैदा गर्ने जनप्रिय जनबोलीका गायक हुनुहुन्थ्यो,’ उनले भने।
बाल्यकालदेखि नै देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित टुहुरेको सिंगो जीवन ऊर्जाले भरिएको उनको टिप्पणी थियो।


