काठमाडौं- अभिनेत्री नम्रता श्रेष्ठले आफ्नाविरुद्ध केही पत्रकार र चलचित्रकर्मी हात धोएर लागेको आरोप लगाएकी छन्। सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले यस्तो टिप्पणी गरेकी हुन्।
अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत भेटिएपछि उनको नाम जोडेर विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा नम्रताले लामो स्टाटस लेखेर खण्डन गरेकी हुन्।
प्रहरीको अनुसन्धालाई प्रभाव पार्न नहुने मनसायले आफूले मिडिमा नबोलेको तर त्यसलाई कमजोरीका रूपमा प्रस्तुत गरिएको भन्दै उनले आपत्ति जनाएकी छन्।
नम्रताको स्टाटस जस्ताको तस्तै
सम्पूर्ण देश तथा बिदेश मा रहनु भएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहीनी नातेदार,इस्टमित्र, दर्शक तथा शुभचिन्तक हरू मा हार्दिक नमस्कार!
धेरै समय पछि सामाजिक सञ्जाल मार्फत केही वास्तविक सुचना हजुरहरू माझ प्रवाह गर्न जादै छु! सन्दर्भ नेपाली चलचित्र ‘#MAYA’ छायङ्कनको क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घरमा झुण्डिएर आत्मा हत्या गरी निधन भएको खबरले सम्पूर्ण चलचित्र जगतलाइ दुखी तुल्याएको छ।
सर्वप्रथम स्वर्गीय कलाकार सारूकको निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु। स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए। उनी सहयोगी भावना भएका मिलनसार व्यक्ति थिए। यो घटनाले हामीलाई अचम्मित तुल्याएको छ..। यस दुखद धडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दछु!
यो घटना केही दिन पहिले घटेको हो। तर अहिले आएर सामाजिक सञ्जालमार्फत म केही बोल्न बाध्य भएँ। सामान्य अवस्थामा पनी त्यति मिडियामा आउने मान्छे होइन म। तर हाल यो घटना पश्चात एकलौटी रुपमा विभिन्न मिडियामार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नु भएको थियो। मेरो परिवार र हाम्रो कानुनी टिमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौँ। एक जना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला सायद! किनकी यो पुरुषप्रधान समाज हो ठीकै छ….।
मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु। म एक महिला मात्र नभएर कलाकार पनि हो। अनि नेपाली नागरिक पनि। हरेक नेपाली नागरिक को बाच्ने पाउने नैसर्गिक अधिकार हुन्छ। सायद यो देशमा कानुन मरेको छैन। यो कानुनी राज्य हो। झुटको खेती गर्नुहुने सबै दिग्गज महानुभावहरुलाई सत्यको बाटो हिँड्नको लागि आग्रह गर्दछु। थुप्रै मिडयाहरुबाट कल आएको थियो। मेरो फोन मेरो दादासॅग हुन्थ्यो। अहिले पनि मेरो परिवारले नै ह्यान्डल गर्नु हुन्छ। तर मिडयामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर मेरो परिवारबाट बोल्ने अनुमति भएन।
मैले विभिन्न टेलिभिजनबाट लाइभ अन्तर्वार्ता दिन सक्थेँ। तर विगतमा मैले दिएको अन्तर्वार्ताहरुलाई विभिन्न कुरा जोडेर तोडमोड गरियो। ट्रोल बनउने प्रयास भयो। त्यसकारण यस बखत टेलिभिजन अन्तर्वार्तामा आइनँ। आवश्यक पर्दा दिउँला। त्यसमा कुनै संकोच छैन। यो घटनासँग जोडिएका फ्याब्रिकेटेड समाचार र विभिन्न भिडियोहरू मेरो कानुनी टिमले हेर्ने नै छ।
म यस चलचित्रको एक कलाकार पनि थिएँ। सोही चलचित्रको कलाकार भएको कारण मैले प्रहरी प्रशासनले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुराहरू बयान दिनु स्वाभाविक थियो होला। तर यहाँ एकतर्फी रुपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे। त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ। आत्महत्याजस्तो संवेदनशील विषयलाई ग्लोरिफाई गर्नु उचित हुँदैन!
पत्रकार देशको चौथो अङ्ग हो। म उहाँहरूलाई सधै सम्मान गर्छु। स्वच्छ पत्रकारिता पत्रकारको धर्म हो। तर केही पितपत्रकारिता गर्ने अनलाइन मिडियाहरूबाट यो घटनापछि भ्युजका लागि जुन कपोकल्पित समाचारहरु एकतर्फी रूपमा प्रसारण गरियो, यस्ता तथ्यहीन समाचारप्रति म घोर भर्त्सना गर्दछु। यो किसिमका तथ्यहीन समाचारप्रति सम्पूर्ण देशविदेश मा रहनु भएका मेरा आफन्तजन, प्यारा दर्शक र शुभचिन्तकहरू सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु!
म आफैँ पनि ‘मेन्टल हेल्थ’को सिकार र वकालतकर्तासमेत भएकोले मैले सोचेँ, कसैको यस्तो संवेदनशील विषयलाई मिडियामा ल्याउन उचित ठानिनँ। म पूर्णतया घर अनि हस्पिटल तिर नै रहें। तर कपोकल्पित तबरले देशै छोडेर क्यानडातिर गएको जस्ता फण्डाहरु फिजाइयो। जबकी इण्डियाभन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ। प्रहरी प्रशासनलाई बयान दिन जाँदा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरुले भन्नु भयो। तपाईँ त विदेश तिर जानुभो भनेर हङ्गामा थियो त मिडियाहरु तिर! तर कतै भिजिट गरेको देखिन्न त भनेर अचम्मित हुनुभयो। चलचित्र टिम र मृतकका परिवारसॅग मेरो परिवारका सदस्यहरू र सहयोगीले शुरुका दिनहरुबाट पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउनु चाहनु भएन।
म आफू बिरामी नै थिएँ। परिवारकै रेखदेख मा रहें। जब मलाई प्रहरी प्रशासनबाट बोलावट भयो, म तुरुन्त म प्रहरी कार्यालय हाजिर भएँ। यो घटना सम्बन्धी डिटेल सोधपुछ भयो। जे जे यथार्थ थियो र हो सबै बताएँ। सो चलचित्रको निर्माण टिम, कलाकारहरु सबै जनासँग सोधपुछ भइरहेको जस्तो लाग्छ। किनकी चलचित्रको कलाकार म मात्र थिइनँ। नेपाल प्रहरी विश्वकै टप फाइभ अनुसन्धानमा अब्बल प्रहरी हो भन्ने भनाइ छ। आशा छ यो घटनाको सत्यतथ्य पक्कै पनि दूधको दूध, पानीको पानी हुने गरी अनुसन्धान गर्ने छ।
‘कोही अपराधी नउम्कयोस् निर्दोष नफसोस्’ भन्ने भनाइ हो। जहाँसम्म कालो बोका र बुटीको कुरालाइ फण्डा बनाइएको थियो, अहिलेको एक्काईसैं शताब्दीमा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युक्तिसंगत हुन्छ होला?? यो देश लोकतन्त्रपछि धर्मनिरपेक्ष मुलुक हो। सबैलाइ धर्म मान्ने स्वतन्त्रता छ। सबैले मनन गरौं। पुजा गर्ने गुरुको कुरा छ जुन चर्चाको नाम थियो उहाँलाइ समेत प्रहरी प्रशासनले पहिले नै बयान लिइसकेको छ। अनुसन्धानलाइ प्रभाव पार्ने काम कोही कसैबाट नगरौं। ‘जस्टिस फर सारुक’।
निष्पक्ष छानबिन होस्, म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सपोर्ट रहने छ।
अन्तमा मृतकको सम्पूर्ण परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्। आदरणीय पुराना वरिष्ठ कलाकार सानु ताम्राकारज्यु बिरामी हुनुहुन्छ भन्ने सुनेको छु। यदि सत्य हो भने शीघ्र स्वास्थ्य लाभको गर्दछु! (यद्यपि सानुको निधन भइसकेको छ।)
चलचित्र मेकिङ टिम र मृतकको परिवारप्रति मेरो भन्नु केही छैन। प्रशासनलाई सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौँ।
मैले यो लेखेर पहीले नै पोष्ट गर्न तयार गरेको थिएँ। किनकी वास्तविकता बाहिर थाह होस भनेर। तर मेरो परीवारको सुझावअनुसार प्रहरी अनुसन्धानमा बाधा पुग्ने भएकोले गरिनँ। त्यही कुरालाई अहिले जस्ताको तेस्तै पोष्ट गरेको छु।


