म्याग्दी– म्याग्दी सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ। बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बिहीबार बजार परिक्रमा गरेका हुन्। नेपाल भाषा मंकाखलः अन्तर्गत रहेका युवाको समूह ल्याम्हः पूचःले बर्खेनाचअन्तर्गतको गोरु नाच प्रदर्शन गरेका हुन्।
बर्खेनाचअन्तर्गत हुने रोपाइँ नाचमा सहभागी हुनका लागि गोरुसहित मुखिया बजार परिक्रमा गर्छन्। मुखियाले क्याप्टेनको खेत रोपाइँमा सहभागी हुन रोपाहारलाई आग्रह गर्ने चलन छ। रोपाइँ नाचमा खेत रोपाइँ गर्न गोरु, बाउसे र हली तयारी अवस्थामा रहेको र रोपाहारलाई सहभागी हुन मुखियाले बजार परिक्रमा गरेर जानकारी गराउने चलन रहेको ल्याम्हः पुचःका सदस्य सज्जन श्रेष्ठले बताए।
गोरुसहित मुखिया बजारको चोक–चोकबाट टोलवासीलाई रोपाइँमा सहभागी हुन सूचना गर्छन् भने सहभागी नहुनेलाई जरिमाना गर्ने आदेश हुन्छ। हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर हरितालिका तीज पर्वसम्म देखाइने बर्खेनाचअन्तर्गत बेनी बजारमा लाखेनाच, घोडानाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरुनाच देखाइएको छ भने रोपाइँ नाच र धानको बाला नाच देखाउने तयारी गरिएको छ।–रासस
