हिरो देख्नै नहुने पछि लागिहाल्ने, केटा देख्दा शरीरमा बिजुली दौडिने लगायतका तेस्रोलिंगी महिला पात्र फिल्ममा धेरै देखियो। मसलाका रुपमा प्रयोग गरिएका यी फिल्मी पात्रका कारण तेस्रोलिंगी महिलाबारे समाजमा गलत धारणा निर्माण हुन गएको देखिन्छ।
फिल्म ‘ए मेरो हजुर’का सिरिजमा पनि कुनै न कुनै प्रसंगमा तेस्रोलिंगी महिला पात्रलाई गलत तरिकाले प्रस्तुत गराइयो। चौथो सिरिजमा नीलहीरा समाजले आपत्ति जनाएपछि बल्ल फिल्म निर्माण टोलीले तेस्रोलिंगी महिलासँग सामाजिक सञ्जालमार्फत माफी मागेको थियो।
तिनै गल्तीहरुबाट सिक्दै प्रमुख पात्र नै यही समुदायको प्रतिनिधित्व गरेर बनेको फिल्म हो, ‘एक भागवत् र एक गीता’।
हिन्दू धर्मालम्वीको धर्मग्रन्थसँग जोडेर सुरुमा यो फिल्मको नाम ‘भागवत् गीता’ राखियो। पछि फेरि अगाडि एक थपेर ‘एक भगवत् गीता’ बनाइयो। विभिन्न धार्मिक संघसंगठनले विरोध जनाएपछि अहिले फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा)’ भएको छ।
जैविक लिंग पुरुष लिएर जन्मिएका भागवत (जेभिस् र जेभिन श्रेष्ठ)को लैंगिक पहिचानका लागि परिवारसँगको लडाइँमा फिल्म आधारित छ। करिब ८ वर्षको भागवतलाई झुम्का, टीका लगाउन मनपर्छ। महिलाका कपडा लगाउन मन पर्छ। आमा दिदीबहिनी जस्तै बन्न मनपर्छ।
तराइको सेटमा तयार पारिएको फिल्म मैथिली र नेपाली भाषाको मिसावटमा बनेको छ। तराइसँगै पहाड र हिमालका दृश्यहरु समेटेको फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथा छ।
भागवतका बुबा गाउँका मेयर हुन्। जेठो सन्तान जन्मेको लामो समयपछि दोस्रो विवाहपश्चात उसले भागवतलाई जन्म दिएको हुन्छ। उसको मान्यतामा भागवतको जन्म भएपछि मात्रै उसको तरक्की (प्रगति) भयो। त्यसैले ऊ जेठो सन्तानको तुलनामा कान्छो भागवतलाई प्रेम गर्छ।
भागवतका बुबा पितृसत्तात्मक सोचका छन्। छोरी जन्मेको परिवारलाई समेत घृणा गर्ने उनी त्यही समाजमा आफ्नै सन्तान छोराको रूपमा छोरी भएर जन्मँदा कस्तो प्रतिक्रिया जनाउलान्? कमलामाई (विपिन कार्की)को वास्तविकता के होला? तराइको भूगोलमा कति पनि शारीरिक बनावट नमिल्ने गीता (सुहाना थापा) ले कसरी मैथली लवजमा बोल्न जानिन् होला? थाहा पाउन फिल्म हेर्नुपर्ने हुन्छ।
अब कुरा गरौँ फिल्मको कथावस्तुबारे। लैंगिक अल्पसंख्यक समुदायको कथा भनिनु यो फिल्मको सबैभन्दा सकारात्मक पाटो हो। त्यसैमाथि कलाले भरिपूर्ण तर केन्द्रले बेवास्ता गरेको तराईको सेटिङमा फिल्म बन्नु झनै प्रशंसायोग्य काम। यसका लागि फिल्म निर्माण टोली धन्यवादका पात्र भएका छन्। तर फिल्ममा समस्या पनि छ।
गम्भीर विषयमा फिल्म बने पनि निकै सतही र फितलो बन्नु दुखद् हो। फिल्मले यो समुदायले भोगेका दर्दनाक घटना र बञ्चित अधिकार देखाउन सकेको छैन।
नेपाली समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सधैं गलत तरिकाले बुझेको छ। तेस्रोलिंगी महिलालाई त झनै दिनभर कुमार अनि रात परेपछि रत्नपार्क, ठमेल र बसपार्कहरुमा कुमारी बनेर हिड्ने मानिसको रुपमा नेपाली समुदायले बुझ्छ। यस्तो अवस्थामा फिल्मले स्पष्ट रुपमा कथा भन्न नसक्दा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति झनै अन्याय हुन जान्छ।
फिल्ममा भागवत जतिखेरै गीतासँग संगत गर्न रुचाउँछ। गीता कमलामाईकी धर्मसन्तान हुन्। र कमलामाई तेस्रोलिंगी महिला। यसले घुमाउरो भाषामा तेस्रोलिंगी महिलाको संगतका कारण आफ्नो सन्तान केटीजस्तै बन्न चाहेको भ्रम फिल्मको अभिभावकमा पर्छ। सन्तानको अस्तित्व स्वीकार्न लगाउनुको सट्टा त्यत्तिकै छाडिदिँदा या भनौं स्पष्टसँग कथा भन्न नसक्दा यो भ्रम दर्शकलाई पनि पर्छ। अझै धर्मसन्तानले त्यही समुदायको नहुँदा समेत अभिभावकको शिक्षाका कारण ताली पड्काएर सहयोग मागेको देखाउनु अन्यायपूर्ण छ। आगामी दिनमा यो समुदायले धर्मसन्तान पाल्दा उनीहरू जस्तै बन्न सक्छन् भन्ने भ्रम यस्ता दृष्यले निम्त्याउँछ। यसरी हेर्दा फिल्मले गलत सन्देश दिएको छ। नियत राम्रो हुँदाहुँदै पनि यो समुदायलाई बुझ्न नसक्दा यस्ता गम्भिर त्रुटी हुन्छन् र यस्ता त्रुटीलाई स्वीकार्न सकिँदैन।
जन्मँदाको लिंग, समाजले बनाइदिएको लैंगिकता र आफुले अनुभव गरेको अनुभूतिबीच तादम्यता नमिल्दा एक मानिसमा कस्तो भावना पैदा होला? समाजको र मनको द्वन्दबीच उ कसरी आफ्नो जीवन चलाउला? मानव अधिकार लगायतका कुराहरु त तपसिलका हुन्, शौचालय प्रयोग समेत उनीहरूका लागि सजिलो छैन। पहिलेको तुलनामा केही हदसम्म कम हिंसा भोगेका यो समुदायले पहिचानको आधारमा नागरिकतादेखि हरेक सेवा सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था छ। यी र यस्ता कयौं समस्या हुँदाहँदै एक बच्चाको पारिवारिक द्वन्द्वमा फिल्म फस्यो। बच्चाको मनोविज्ञान फिल्मले कत्ति पनि देखाउन सकेको छैन।
गम्भीर विषयमा फिल्म बने पनि निकै सतही र फितलो बन्नु दुखद् हो। फिल्मले यो समुदायले भोगेका दर्दनाक घटना र बञ्चित अधिकार देखाउन सकेको छैन।
अर्को समस्या छ, ताली संस्कृतिबारे। ताली भारतको हिँजरा समुदायको संस्कार हो। केही समयअघि मात्रै सुस्मिता सेन अभिनित वेबसिरिज ‘ताली’ ओटीटीमार्फत प्रर्दशनमा आएको थियो। ‘ताली बजाउँदिन, अरुलाई बजाउन लगाउँछु’ भन्ने भाव बोकेको थियो उक्त सिरिजले। श्रीगौरी सावन्तको जीवनकथामा बनेको वेबसिरिजले भारतमा तेस्रोलिंगी महिलाले बजाउने तालीको विरोध गरेको छ।
भारतको प्रभाव नेपालको तराई क्षेत्रमा बढी पर्छ। त्यहाँबाट पात्र उठाउन पाइयो। तर नेपालको संस्कारमा नभएको ताली परम्परालाई फिल्मले धार्मिक प्रमाणपत्र दिने कोसिस गरेको छ। लैंगिक अल्पसंख्यकलाई भगवान बनाउनुभन्दा मानव भएर बाँच्न दिनु न्यायपूर्ण हुन्छ।
पहिलो हाफमा गीत नै गीत छन्, दोस्रो हाफमा कथैकथा, सस्पेन्स नै सस्पेन्स। यसरी हेर्दा फिल्मको सम्पादनमा पनि समस्या देखियो।
अर्को दुखको कुरा, कमलामाई बनेका विपिन कार्कीको अभिनय पनि हो। उनीबाट अलि धेरै आश राखेकाले पनि निराश बन्नुपरेको हुन सक्छ। किनभने उनको अनुहारमा भाव नै छैन। कुनै पुरुषले महिलाको कपडा लगाउँदैमा, मेकअप गर्दैमा ऊ तेस्रोलिंगी महिला हुने हैन। भावनाले उनीहरुको लैंगिकता पहिचान गर्ने हो भन्नेमा कमलामाईको अभिनय चुकेको छ।
सुहाना थापाको अभिनयमा पुराना फिल्महरुमा भन्दा केही हदसम्म सुधार छ। तर मैथिली लवजमा बोल्दा बनावटी सुनिन्छ। उनको चरित्र निर्माणले फिल्मलाई साथ दिएको छैन। कथा एकातिर छ, उनी अर्कोतिर छिन्। तर अनावश्यक रुपमा उनको दृष्यलाई लम्ब्याइएको छ।
एक दृष्य छ, सुहानाले अभिनय गरेको पात्र गीता शौच गर्न केराघारीमा गएको। यो दृष्यमा उनी भागेको दृष्य यतिधेरै लामो छ कि, दर्शक आफैँ शौचालय पुगेर फर्कन भ्याउँछन्। यसले के प्रष्ट पार्छ भने, यो फिल्मको नियत सफा थियो तर त्यहाँ आफ्नो सन्तानलाई फुटेज दिनुपर्ने बाध्यता अभिभावकलाई पर्यो।
धिरज मगरलाई कम भूमिका दिएपनि उनले आफ्नो चरित्रलाई न्याय गरेका छन्। खासमा सुहाना र धिरज दुवैको काम फिल्ममा छैन। यी दुई पात्रको सम्बन्ध जोड्दै भूमिका लेख्न पटकथाकार चुकेको प्रष्ट हुन्छ।
केही दृष्य त यतिधेरै बकवास छन् कि, कुरै नगरौं। जब जनकपुरको प्रहरीलाई थाहा हुन्छ हराएका पात्र कास्कीतिर पुगेका छन्। कास्कीका प्रहरीले खोजिहाल्छ नि, प्रहरीबीच सर्कुलेसन जारी हुँदैन र भन्या?
फिल्मको तालमेल मिलेको छैन। पहिलो हाफमा गीत नै गीत छन्, दोस्रो हाफमा कथैकथा, सस्पेन्स नै सस्पेन्स। यसरी हेर्दा फिल्मको सम्पादनमा पनि समस्या देखियो।
योबाहेक फिल्मको सकारात्मक पाटोबारे चर्चा गर्दा केही हदसम्म तराइलाई देखाएको छ। पूर्ण रुपमा तराई देखाउन नसकेपछि फिल्मको प्रयासलाई राम्रो मान्न सकिन्छ। राम्रो दृष्य भनेको हिमाल र पहाड मात्रै हो भन्ने सोच भएका धेरै फिल्म मेकरलाई तराइका ति दृष्यले मोहित पार्नसक्छ र तराई फिल्म छायांकनको राम्रो स्थान बन्न सक्छ।
केही दृष्य त यतिधेरै बकबास छन् कि, कुरै नगरौं। जब जनकपुरको प्रहरीलाई थाहा हुन्छ हराएका पात्र कास्कीतिर पुगेका छन्। कास्कीका प्रहरीले खोजिहाल्छ नि, प्रहरीबीच सर्कुलेसन जारी हुँदैन र भन्या?
फिल्ममा प्रयोग भएका गीत संगीत एकदमै सुन्दर छन्। हरेक गीतमा तराइलाई महशुष गर्न सकिन्छ। गीत झ्याप्प आउने जाने भएको छैन। सिलसिला मिलाएर गीत राखिएकाले कथावस्तु अगाडि बढ्न गीतले सजिलो बनाएको छ। फिल्मको ब्याकग्रान्ड म्युजिक राम्रो छ। कहिलेकाहीँ दक्षिण भारतका फिल्महरुको झल्को दिने गरेर ब्याकग्राउन्ड म्युजिक तयार पारिएको छ।
फिल्ममा केही दृष्य खिचाइमा एकदमै मेहनत गरिएको छ। जस्तैः फिल्मको सुरुमा एक फुललाई बाटोमा खस्छ। धेरै मानिसहरु त्यो बाटोमा हिँड्छन् तर कुल्चिनबाट बाँच्छ। पछि बाटोमा फालिएको सेतो फुललाई कमलामाई टिप्छिन् र कपालमा लगाउँछिन्। यसले कमलामाइको चरित्रलाई प्रस्तुत गरेको छ। उनी तेस्रोलिंगी महिलाहरुको माइ (आमा) हुन्। जसले अन्य तेस्रोलिंगी महिलाहरु जो बाटोमा फालिएका छन् उनीहरुको रक्षा गर्छिन्।
फिल्ममा भगवतको भूमिका निर्वाह गरेका जुम्ल्याहा बाल कलाकारहरु जेभिस् र जेभिन श्रेष्ठको अभिनय राम्रो छ। बाल कलाकारका रुपमा उनीहरूले प्रशंसनिय काम गरेका छन्। त्यस्तै फिल्ममा कबिर खड्का, अनुराग कुँवर लगायतको अभिनयले पनि आँखालाई बिझाउँदैन।
समग्रमा फिल्मको नियत राम्रो भएपनि कथामा चिप्लदा खल्लो बनेको छ। अब तेस्रोलिंगी महिलाकै कथामा आधारित फिल्महरु गुलाबी, जुलेबीलगायत प्रर्दशनको तयारीमा छन्। लामो समयदेखि बलिउडको प्रभावमा परेर नेपाली फिल्ममा गलत प्रस्तुत भएका तेस्रोलिंगी महिलाको कथा यी फिल्ममा न्यायपूर्ण तरिकाले आओस्, शुभकामना।



