काठमाडौं- काठमाडौंका एक व्यापारी एक साताअघि एउटा बैंक पुगेका थिए।
काम सकेर बैंकबाट निस्किने क्रममा ४५ वर्षका ती व्यापारीको नजर रिसेप्सनमा पर्यो। रिसेप्सनमा एउटा युवती थिइन्।
युवतीलाई देख्नेवित्तिकै व्यापारी नजिकिन खोजे। उनलाई कफी खाने प्रस्ताव राखे।
ती युवतीले प्रस्ताव स्वीकार गरिन्। नम्बर आदान-प्रदान भयो।
एक साँझ दुबै कफी खान बसे। अर्को दिन व्यापारीले एउटा अपार्टमेन्टमा बोलाए।
त्यहाँ बसेर ‘गुड फ्राइडे’ मनाउने भन्दै दुबैले वाइन पिए। दुबैबीच सहमतिमै शारीरिक सम्बन्ध भयो। युवती आफ्नो गन्तव्यतिर लागिन्।
व्यापारीलाई बिहान साढे ५ बजे मोबाइलमा एसएमएस आयो – १० लाख रुपैयाँ ठिक पार्नू। नत्र प्रहरीमा गएर बलात्कारको निवेदन दिन्छु।
अघिल्लो दिन युवतीसँग ‘मस्ती’ गरेका व्यापारी छाँगाबाट खसेजस्तै भए।
प्रहरीमा निवेदन पर्नुअघि रकमको ‘बार्गेनिङ’ हुन थाल्यो। व्यापारीले ती युवतीलाई पाँच लाख रुपैयाँ दिएर निवेदन नदिन मनाए।
युवतीलाई पैसा बुझाएपछि व्यापारी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा गुहार माग्न पुगे। प्रहरीले उनलाई ‘केही गर्न नसक्ने’ भनेर फर्काइदियो।
किनकि, शारीरिक सम्बन्धसम्म पुग्ने परिस्थिति व्यापारीले नै निम्त्याएका थिए। घटनामा पीडित युवती नै देखिने भइन्।
युवतीले रकम असुलिएको घटनामा उनलाई कारबाही गर्न भने सकिन्थ्यो।
मुलुकी फौजदारी अपराध संहिता अनुसार सहमतिमै शारीरिक सम्पर्क भए पनि महिलाले जबरजस्तीको उजुरी दिएको खण्डमा पुरुषलाई अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने हुन्छ।
यति भनेपछि व्यापारी पन्छिए।
काठमाडौंकै एक जना धनाढ्य परिवारका युवा एउटा एलओडी क्लब पुगेका थिए। मदिराले लठ्ठ ती युवाले एलओडीमा एउटी किशोरी देखे।
नजिकिने क्रममा युवाले सिधै शारीरिक सम्बन्धका लागि प्रस्ताव राखे। युवती तयार भइन्।
उनीहरू एउटा होटल पुगे। मदिराले लठ्ठ युवा र किशोरीबीच सम्बन्ध भयो।
किशोरीले झुक्याएर भिडिओ खिचेकी रहिछन्। उनले भोलिपल्टदेखि युवालाई फोन गर्न थालिन्। उनले आफूलाई बलात्कार गरेको उजुरी हालिदिने भन्दै पाँच लाख रुपैयाँ माग्न थालिन्। अन्तिममा युवा दुई लाख रुपैयाँ दिन तयार भए।
ती किशोरी १८ वर्षभन्दा कम उमेरकी थिइन्।
किशोरीबाट पीडित भएको भन्दै उनी पनि प्रहरीमा पुगेका थिए। न्याय माग्दै आए पनि युवा नै दोषी देखिन्थे। १८ वर्षभन्दा कम उमेरकी युवतीसँग शारीरिक सम्बन्ध राख्ने पुरुषलाई अपराध संहिताले दोषी मान्छ।
कुरा ६-७ महिनाअघिको हो। एउटी युवती जागिर खोज्ने सिलसिलामा एक जना व्यापारीकहाँ पुगिन्।
जागिर खान आएकी युवतीसँग नजिकिने क्रममा ती व्यापारी पनि ‘हनी ट्रयाप’मा परे। अन्तत: उनले पनि त्यसरी नै रकम तिर्न बाध्य भए।
यी प्रतिनिधिमुलक घटना हुन्। हिजोआज काठमाडौंमा प्रत्यक्ष भेटघाट वा सामाजिक सञ्जालमार्फत् युवतीहरू धनाढ्य व्यक्तिसँग नजिकिने, अन्तिममा शारीरिक सम्बन्ध स्थापित गर्ने र बार्गेनिङ गरी रकम असुल्ने धन्दामा सक्रिय छन्।
यस्तोमा विवाहित पुरुष बढी पीडित हुने गरेका छन्। घरपरिवारमा घटना थाहा हुने डरले उनीहरू हत्तपत्त रकम दिन तयार भइरहेका हुन्छन्।
‘हाम्रोमा गुनासो लिएर आइरहेका हुन्छन्, यस्तो केसमा पीडित पुरुषहरू नै देखिन्छन्,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौर भन्छन्।
उनका अनुसार काठमाडौंमा ‘हनी ट्रयाप’मा पर्नेहरूको संख्या बढ्दै गएको छ। तीन सातामा मात्रै सात जना पुरुषहरू यस्तो गुनासो लिएर आएको उनले बताए।
पछिल्लो ६/७ महिनामा ३०-४० जना पुरुषहरू ‘हनी ट्रयाप’बाट पीडित भएको भन्दै प्रहरीमा आउने गरेका छन्।
उनका अनुसार त्यसरी पुरुषहरूसँग नजिकिने, खानपिनमा बस्ने र अन्तिमा शारीरिक सम्बन्धपछि रकम बार्गेनिङ युवतीहरूको ‘पेशेवर’ समूह नै सक्रिय छ।
‘उनीहरू यौनकर्मी होइनन्, छोटो समयमा ठूलो रकम हात पार्नका लागि यस्तो खाले गतिविधिमा उनीहरूको संलग्नता देखिन्छ,’ उनले भने।
युवतीहरूलाई खटाउने पुरुष समूह रहेको आशंका प्रहरीको छ। त्यसबापत् उनीहरू कमिशन बुझ्छन्।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार यस्तो समूहबाट सचेत रहनु नै सम्भावित जोखिमबाट बच्नु हो।
‘कोही अपरिचित युवतीले बोलाइन्, सामाजिक सञ्जालमा अपरिचित जोडिन आयो, नजिकिन खोज्यो भने सचेत रहनुपर्छ,’ उनले भने, ‘नजिकिएर मोजमस्तीमा रमाउन खोजे तनाव व्यहोर्नुपर्ने र धनराशी खर्च गर्ने अवस्था आउँछ भन्ने देखियो।’
रेग्मीका अनुसार अहिलेसम्म ‘हनी ट्रयाप’मा परेका व्यक्तिहरू धनाढ्य छन्, ठेकेदारहरू छन्।
अनुसन्धान कार्यालयले यस्तो कार्यमा संलग्न समूहको खोजी गरिरहेको छ। तर, कानुनले जो पीडित छन् उसैलाई परिबन्धमा पारिदिने भएकाले प्रहरीलाई कारबाही गर्न गाह्रो रहेको उनी बताउँछन्।


