काठमाडौं– अभिनेता अनमोल केसी पक्राउ। फिल्म बृत्त यतिबेला यही विषयले तरङ्गित छ। अरु तमाम प्रसङ्ग ओझेल पारेर अभिनेता अनमोल केसीको आपराधिक बिश्वासघातको मुद्दा चर्चामा छ। उनी यतिबेला प्रहरीको घेरामा छन्। हिरासतकै अवस्थामा उनी स्वास्थ्यका कारण अस्पताल भर्ना पनि भएका छन्।
अभिनेता अनमोल पक्राउ पर्नुभन्दा दुई दिनअघि अर्थात् असोज १० गते नै उनले उच्च अदालत पाटनबाट निषेधाज्ञाको आदेश समेत लिएको खुलेको छ। देवानी लेनदेन वा देवानी दायित्वका बिषयमा प्रहरीको क्षेत्राधिकार नहुने भन्दै कायम मुकायम मुख्य न्यायधीश महेश शर्मा पौडेलको इजलासले पक्राउ नगर्न आदेश दिएको उच्च अदालत पाटनले जनाएको छ। यसको मतलब, उनमा आफू जुनकुनै बेला पक्राउ पर्नसक्ने पूर्वानूमान थियो।
तर अभिनेता अनमोलको अनुमान त्यतिबेला फरक पर्यो जतिबेला उजुरीको प्रकृती फरक बनेर सतहमा देखियो। देवयानी संहितामा मुद्दा पर्ने अनुमान सहित उनले निषेधाज्ञा आदेश लिएकोमा बादी तर्फले फौजदारी तर्फ मुद्दा हालिदिए। सोही बमोजिम उनलाई उपत्यका अपराध अनुन्धान कार्यालय, काठमाडौंको टोलीले पक्राउ गरेको हो। उनलाई भक्तपुरको साँगाबाट नियन्त्रणमा लिइएको हो।
अनमोल विरुद्ध निर्देशक सुदर्शन थापाको प्रोडक्सन कम्पनीका तर्फबाट निर्माता अर्थात् सुदर्शनकी श्रीमती सुप्रिया भनिने चन्द्रकला कटुवालले आपराधिक बिश्वासघातमा उजुरी दिएकी हुन्। फिल्म निर्माण कम्पनीका अनुसार, फिल्म निर्माणका लागि एक करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको छ। अभिनेता अनमोल केसीले खेल्ने भनेको फिल्ममा अभिनय नगर्ने भनेकाले लगानी धरापमा परेको र दशैंको मुखमा ६५ जना प्राविधिक समेत अलपत्र परेको उजुरीकर्ताको दावी छ।
प्रहरीले यसलाई फौजदारी कसुर मानेर आईतबार अदालतमा अनुशन्धानका लागि म्याद थपका गर्न उपस्थित गराउने तयारी गरेको छ। अनमोलनलाई फोन गरेर बोलाउँदा ‘जे गर्न मन लाग्छ गर’ भनेको भन्दै प्रहरीको कुरा अटेर गरेको प्रतिशोध समेत साँध्ने दाउ प्रहरीको छ। यो कुरा प्रहरीकै मुखबाट बाहिर आइसकेको छ। त्यसैले पनि यो परिघटनाका अरु आयामहरुबारे विश्लेषण हुन जरुरी छ।
पहिले घटनाबारे कुरा गरौं।
१७ सेम्प्टेम्बर अर्थात् भदौ ३१ गते निर्देशक सुर्दशन थापाले एक फोटो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरे। जसमा उनले लेखेका छन् ‘नयाँ क्षितिज, नयाँ आशा– छिट्टै आउँदैछ रावायण’ (अंग्रेजी स्टाटसको अनुवाद )। फोटोमा चलचित्र बिकास बोर्डका अध्यक्ष समेत रहेका अभिनेता भुवन केसी, उनकी गर्लफ्रेण्ड जिया, छोरा अनमोल र सुदर्शन थापा लगायतका व्यक्तिहरु अटाएका छन्। सुर्दशनले तस्बिर आफ्नो फेसबुकमा राखेको भोलिपल्ट अर्थात् असोज ६ गते, अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन्। यसमा उनले अघिल्लो फिल्ममा दर्शकलाई बिश्वासघात भएकाले अब आर्थिक अंकगणित मात्रै नहेर्ने कुरा जिकिर गरेको देखिन्छ। साथै, आफु कुनै पनि प्रोजेक्टमा आवद्ध हुँदा कसैको निहित व्यक्तिगत स्वार्थमा उपयोग नहुँ भन्नेमा निक्कै गम्भिर रहेको भन्दै अब फिल्म गर्दा जबसम्म स्क्रिप्टमा पूर्ण चित्त बुझाइ हुँदैन तब सम्म फिल्म गर्न हतार नगर्ने समेत मत जाहेर गरेका छन्। अन्त्यमा अब आउने प्रोजेक्टहरु जबसम्म आधिकारिक पेजबाट घोषणा हुँदैन तबसम्म अनाधिकारिक रुपमा सम्प्रेषण नगरिदिनुहुन पनि उनको अनुरोध थियो।
किन आक्रमक भएका थिए अनमोल?
कहिल्यै आक्रमक रुपमा प्रस्तुत नहुने अनमोलले फेसबुकमा यति लामो स्टाटस लेख्दा सबैको ध्यान तानिनु स्वभाविक हो। सीधा रूपमा भन्न नसकेको कुरा घुमाउरो पारामा अनमोलको स्टाटसमा पोखिएको छ।
फिल्म छनौटको निर्णय अनमोलको हातमा नभएको बारे फिल्म वृत्तमा सधैं चर्चा छ। जानकारहरुका अनुसार उनका बुबा समेत रहेको अभिनेता भुवन केसीले नै सबै फिल्मको ‘डिल’ गर्छन् र अनमोललाई फिल्म खेलाउन भुवनलाई खुशी बनाउनुपर्ने स्थिति छ। यो केवल हल्लाको विषय होइन।
अनमोलको त्यो बेलिविस्तार हेर्दा उनले अब कसैको ब्यक्तिगत स्वार्थमा उपयोग हुन नचाहेको कुरा राखेका छन्। यसले के प्रष्ट पार्छ भने, अहिलेसम्म उनले अभिनय गरेका फिल्महरु कसैको व्यक्तिगत स्वार्थमा भएका थिए। अर्थात, हरेक फिल्मको निर्णय गर्ने उनका बुबा भुवन नै थिए र यी काम उनको व्यक्तिगत स्वार्थमा भएको थियो।
यहाँ अर्को आयाम पनि स्मरणीय छ। चर्चा गरौं।
भुवन केसी बोर्ड अध्यक्ष हुन कांग्रेसको लबिङ गर्ने क्रममा काँग्रेस नेता इन्द्र बानियाँ मार्फत् काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा काँग्रेस केन्द्रिय सदस्य, सांसद आरजु देउवासम्म पुगेको चर्चा थियो। जसका लागि, इन्द्र बानियाँका भतिज युद्ध बानियाँ जो पूजा शर्माका व्यापारिक पार्टनर सँगै हुनेवाला श्रीमान समेत हुन्, उनले लबिङ गरेको सुन्नमा आएको थियो।
नेता इन्द्र बानियाँले हुनेवाला बुहारी पूजा शर्माको अनमोल संग फिल्म खेल्ने इच्छा पूरा गर्न सहमत भएपछि मात्र सिफारिस आरजु सम्म पुगेको भन्ने हल्ला र अहिलेको यो घटना जोडेर हेर्दा अनमोलको स्टाटसले इंकित गरेको व्यक्तिगत स्वार्थमा उनको बाबुको नाम जोडिन्छ। किनभने पुजासँग हरेक प्रोजेक्टमा सँगै काम गरेका सुदर्शन थापाले बनाउन लागेको फिल्मका सन्दर्भमा यी कुरा बाहिर आएका हुन्।
उनै थापाले सार्वजनिक गरेको फिल्म रावायण निर्माण टोलीसँगको फोटोमा पनि भुवन र जियासँगै अनमोल उभ्भिएका छन्। फोटो पोष्ट भएको भोलिपल्ट उनको यस्तो स्टाटस आउँदा फिल्ममा अनुबन्धित हुनुअघि अनमोलको बिना सहमति सम्झौता भएको प्रष्ट हुन्छ। अहिले झण्डै २ हप्ता बित्न लाग्दा उनी यहि फिल्म रावायणका कारण प्रहरीको घेरामा छन्।
गल्ती कसको?
हामीकहाँ मात्र होइन संसारको जुनसुकै फिल्म उद्योगमा पनि सम्झौता भएर फ्लोरमा जान लागेका फिल्मबाट कलाकार पछि हटेको घटना नौलो मानिदैन। व्यवसायिक रुपमा सहकार्य गर्ने क्रममा कलाकार र निर्माण पक्षबीच विविध कारण कारणले गर्दा ‘डिसएग्रीमेन्ट’को अवस्था आउन सक्छ। काम गर्ने क्रममा बिभिन्न कारण कलाकार कामबाट हट्न पाइन्छ, यो उसको ब्यक्तिगत अधिकार हो। तर कलाकारले निर्माण पक्षलाई कुनै पनि नियतबस नोक्सानीतिर लैजाने कुरा त्यति व्यावसायीक मर्म र साखको खिलाप पनि हुन्छ। दुबै पक्षमा प्रोफेशल आचारण र प्रतिवद्धता भएमा यस्तो अवस्थाको निरुपण व्यावसायिक चरित्रका आधारमा हुन्छ, गरिन्छ।
सामाजिक सञ्जाल केलाउँदा, अनमोल फिल्मको स्कृप्टलाई लिएर असन्तुष्ट रहेको देखिन्छ। सम्झौता भएको भोलीपल्टै सामाजिक सञ्जालमार्फत उनले यो कुरा प्रष्ट पारिसकेका समेत छन्। उनको आधिकारिक पेजबाट खबर नबाहिरिएसम्म फिल्मको सम्झौता भएको नहुने भन्ने उनको तर्कलाई मियोमा राख्ने हो भने उनको पेजबाट रावायणको आधिकारिक धारणा आएको छैन।
१० लाख पैसा पनि लिने र फिल्म पनि नखेल्ने भनेका हुन् भने अनमोलले आपरिधिक विश्वासघात गरेको ठहर्छ। उनले कानुन अनुसार सजाय भोग्नै पर्छ । तर, सम्झौता गर्नेले उनको सहमति बेगर १० लाख कुम्ल्याएको हो भने यसमा मुद्दा हाल्नेको पनि नियत खराब देखिन्छ। फिल्म निर्माण पक्षको कमजोरी कहाँनेर देखिन्छ भने निर्माताले कमसेकम सम्झौता गर्नेसँग नभई फिल्ममा काम गर्ने मानिससंग अनुमति लिन जरुरी छ। अनमोल १८ वर्ष माथिका युवा हुन्। उनको निर्णयाधिकारप्रति सुदर्शन थापा र उनको टिमले जुन तहको नजरअन्दाज देखायो, यो पनि कमजोर व्यावसायिकताको उदाहरण हो।
त्यस्तै फिल्म निर्माण टोलीले फिल्म घोषणा भएकै जम्मा २ हप्ताको बीचमा १ करोड ५ लाख रुपैयाँ अनमोलका कारण डुब्न खोजेको आरोप लगाउनुमा पर्याप्त शंका गर्न सकिने ठाउँ छ। कलाकारलाई यो एकप्रकारको अपमान हो। एकातिर अनमोलले भनिरहेका छन्, म यो फिल्ममा छैन। र, अर्कोतिर २ हप्ता नपुग्दै निर्माण पक्षले नोक्सानी जुन रकम सतहमा देखाएको छ त्यसले निर्माण पक्षको स्तरहीन जवाफदेहीता प्रकट गर्छ। किन यस्तो भयो? यसको जवाफ फिल्म निर्माण टोलीले दिनै पर्छ।
के हो आपराधिक विश्वासघात?
घटनाका गुत्थी र स्वार्थका आयामलाई एकातिर पन्छाएर हेर्दा यतिबेला अभिनेता अनमोल केसी ‘आपराधिक विश्वासघात’ आरोपित हुन्। नेपाल सरकारको मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ मा यस बिषयबारे उल्लेख छ।
ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर शिर्षकमा दफा २५२ को ९– खमा लेखिएको छ, ‘अर्काको कुनै काम कारोवार गर्ने जिम्मा लिएको वा कानूनी कर्तव्य पालन गर्नु पर्ने जिम्मेवारी भएको ब्यक्तिले वा कुनै काम कारोवारका सम्बन्धमा अर्काको प्रतिनिधिको रुपमा काम गर्ने व्यक्तिले आफु वा अरु कसैलाई फाइदा पुर्याउनका लागि आफ्नो कर्तव्यको विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याएमा त्यसलाई आपराधिक विश्वासघात गरिएको ठहरिनेछ।’
कानुनी नजरबाट हेर्दा यदि अनमोलमाथिको आरोप पुष्टि भएमा उनले तीन बर्षसम्म कैद वा तिस हजारसम्मको जरिवाना वा दुबै कसुर भोग्नेछन्।
थाहा छैन, कानुनको दफा बलियो छ कि नियत र नियतिको चक्रव्यूहमा परेका अनमोलको वाध्यता?



