काठमाडौं- सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका विभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थितिबीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ।
सन् २०२२ मा ‘जीवन्त सहर’ (ग्लोबल लिभेबिलिटी) का लागि विश्वभरमै तेस्रो अनि उत्तरी अमेरिकाकै पहिलो बनेको क्यालगरीमा अघिल्लो दिनबाटै नेपथ्य माहोल अनुभूत गर्न सकिन्थ्यो। स्थानीय टेलिभिजन सिबिसी लगायतका सञ्चारमाध्यमहरुमा नेपाली गीत, नेपाली गायक र नेपाली प्रस्तोताका अभिव्यक्तिहरू देखापर्न थालेका थिए।
आइतबार बेलुकी शो सुरू हुनुभन्दा अगाडि त्यसैको निरन्तरतामा हल वरपर लामवद्ध दर्शक देखिए।
ती दर्शकहरू क्यालगरी मात्र नभई अल्बर्टा राज्यकै एडमण्टन, लेथब्रिज, मेडिसिन ह्याट, ओकोटोक्स, क्यानमोर र ग्रेटनभ्याली लगायतका सहर र बस्तीदेखि नेपथ्यलाई अनुभव गर्न जम्मा भएको यहाँस्थित नेपाली समाजका सक्रिय अग्रज ध्रुव राई बताइरहेका थिए।
निर्धारित समयअनुसार बेलुकीको ठीक ७ बजे प्यालेस थिएटरमा नेपथ्यको पहिलो भेटस्वरुप ‘सा कर्णाली’ म्यूजिक भिडियो गुञ्जिन सुरू भयो। दर्शकहरूबाट चर्को स्वागतकै बीच मञ्चमा नेपथ्य टोली देखापरेपछि भने त्यस साँझको पहिलो प्रस्तुती ‘कोसीको पानी यो जिन्दगानी’ सुनाइएको थियो।
एक दसकअघि पूर्वी नेपालको पैदलयात्रा गर्दा गायक अमृत गुरुङले संखुवासभाको चैनपुरका डिल्ले दमाइबाट यो गीत संकलन गरेका थिए। त्यसपछि कार्यक्रमलाई नेपथ्यकै चर्चित गीतहरू क्रमशः ‘भेंडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘खान्न म त लामपाते सुरती’ले निरन्तरता दिएको थियो।
कन्सर्ट हेर्न आएका दर्शकहरूको भिडमा परिचित गायिका मीना निरौला पनि थिइन्। छोटो समयमै नेपाली सिनेमा जगतलाई ‘ठमेल बजार’ र ‘काले दाइ’जस्ता गीतहरु दिएकी मीना पछिल्लो समय क्यानाडामै बसोबास गर्दै आएकी छिन्।
‘मलाई त तीज-दसैंजस्ता चाडबाडका बेला माइती नै आएको जस्तो लागिरहेको छ,’ भासिएको स्वरमा मीना भनिरहेकी थिइन्, ‘मञ्चमा बसेर गाउने बानी त छँदै थियो, आज चाहिँ दर्शकदीर्घामा बसेर चिच्याउँदा चिच्याउँदै स्वर नै गयो।’
गायक अमृतले त्यसपछि पनि ‘चरी मर्यो’, ‘जोमसोमे बजार’, ‘शिरफूल’ र लाहुरेहरूले ल्याएको ‘नैनाताल’जस्ता गीतहरू सुनाउँदै गए।
‘तपाईंहरूले विदेशमा कमाएको सिप, पैसा अनि तपाईंहरूको मेहनतबाट मातृभूमि नेपाल पनि लाभान्वित हुनुपर्छ,’ सदा झैं गीतको बीचमा सन्देश समेत दिँदै गायक अमृतले भनेका थिए, ‘नेपालमा सडक आश्रितहरूको आवाजलाई साथ दिने र समाजमा मानवता प्रवरद्धनको अभिप्रायले गएको वर्षदेखि नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियानलाई अघि बढाउँदै आइरहेको छ।’
उनले क्यानाडाको यो शृंखलावद्ध भ्रमण पनि सो उदेश्यमा समर्पित समभाव बोकेको मानवसेवा आश्रमको कामप्रति समर्पित रहेको जानकारी दिए।
नेपथ्यको कन्सर्ट हेर्नका निम्ति अल्बर्टा राज्यभन्दा परदेखि जम्माभएका दर्शकमा दुई हजार किलोमिटर लामो यात्रा गरेर उत्तर पश्चिमी राज्यको सहर येलो नाइफदेखि आइपुगेका मानिक दुगड पनि थिए।
‘क्यालगरीको हलमा नेपाली गीत गुञ्जिरहँदा उभिने ठाउँ पनि नभेटिने गरी टनाटन दर्शक देखेर म त दङ्ग परेँ,’ ३७ वर्षदेखि क्यानाडामा बसोबास गर्दैआएका मानिक भनिरहेका थिए, ‘नेपालीपन भरिएका प्रत्येक गीत कण्ठस्थै भएजसरी गाउँदै रमाएका विभिन्न उमेरका दर्शक देख्दा असाध्यै रमाइलो महसुस गर्न पाएँ।’
कन्सर्ट हेरेपछि यसका लागि आफुले गरेको लामो यात्रा सार्थक भएको अनुभूति पनि मानिकले सुनाए।
अर्कोतिर कन्सर्ट हेर्न एडमन्टनदेखि तीन घन्टा सवारी हाँकेर आएका वातावरण योजनाविद् अच्यूत अधिकारी पनि थिए। अच्यूतले अलबर्टा राज्यकै उक्त सहरबाट आफूजस्तै यात्रा गरेर करिब दुई सय जना क्यालगरी आइपुगेको उनको अड्कल थियो।
‘कन्सर्ट अवधिभर नेपथ्यको गीतमार्फत् बाल्यकालको यात्रा फेरि गरेको जस्तो अनुभव भइरह्यो,’ अच्यूत भन्दै थिए, ‘दुई घन्टा बितेको पत्तै भएन।’ यो क्षणको अनुभवका लागि आफूहरूले लामो प्रतीक्षा गरेको जानकारी पनि उनले दिए।
दर्शकदीर्घामै क्यानाडामा पुनर्स्थापित झापाको बेलडाँगी शिविरमा जन्मे हुर्केका भुटानी शरणार्थी विकास रसाइली पनि उपस्थित थिए। नेपाल रहँदैको प्रिय ब्याण्ड नेपथ्य अनुभव गर्ने हिसाबले मात्र नभई क्यानाडामै रहेको नेपाली भाषी समुदायसँग पनि नजिकिन यो अवसर सहयोगी हुनपुगेको प्रतिक्रिया विकासले दिए।
कन्सर्टको अन्त्यतिर भने सदा झैं सर्वकालीक हिट ‘रेशम’, ‘तालको पानी’ र अन्त्यमा राष्ट्रिय झण्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसूर्जे’ सुनाइएको थियो।
‘नेपथ्यलाई यसरी क्यालगरीमा उभ्याउन पाएकोमा असाध्यै भाग्यमानी महसुस गरिरहेका छौं,’ स्थानीय आयोजक टोलीका जगदीश कँडेलको प्रतिक्रिया थियो, ‘यहाँको नेपाली समुदायबाट नेपथ्यले पाएको माया र सद्भावबाट हामी पनि उत्साहित छौं।’
कन्सर्टमा अमृतलाई सदैव झैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
क्यालगरीको कन्सर्ट सम्पन्न भएपछि अब ब्याण्डले ४ तारिख अर्थात् बुधबार भ्यानकुभर सहरको ‘दी भोग थिएटर’मा आफूलाई उभ्याउँदैछ। त्यसपछि अन्तिम शो ८ तारिख आइतबारका दिन मुलुककै पूर्ववर्ती व्यापारिक सहर टोरन्टोस्थित क्यानाडाकै बिख्यात सभागृह ‘म्यासी हल’मा हुनेछ।
यी कन्सर्टहरूमा क्यानाडामा रहेका विद्यार्थीहरूको निम्ति विशेष छुटको व्यवस्था गरिएको छ।
अनलाइनबाटै टिकट लिन चाहनेका लागि नेपथ्यले आफ्नो वेबसाइटबाटै पनि उपलब्ध गराउने बन्दोबस्त मिलाएको छ।







