काठमाडौं- लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले काठमाडौंमा गोली चलाएको छ।
गोकर्णेश्वर-९ जगडोलमा प्रहरीले गोली हानी एक जनालाई नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जवाफी कारबाही गरी एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका ३६ वर्षीय अमन घलानलाई बिहीबार दिउँसो गोली हानी नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।
उनको दाहिने घुँडामुनि र तिघ्रामा दुई गोली लागेको छ। उनको नेपाल मेडिकल कलेज जोरपाटी अत्तरखेलमा उपचारको लागि पठाइएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सर्लाही सन्त लामा र सिन्धुपाल्चोक घर भएका जितेन लामालाई नियन्त्रणमा लिएको छ। लुटेरा समूहबाट एक थान पेस्तोल र गोलीहरू बरामद भएको छ।
जगडोलमा तीन वटा मोटरसाइकलमा आएका उनीहरूले लुटपाटको योजना बनाएका थिए।
‘नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि पेस्तोल ताकेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको हो,’ रेग्मीले भने।
प्रहरीले अन्य केही व्यक्तिहरूको खोजी गरिरहेको छ।


