काठमाडौं – आजदेखि तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन्।
फरक परिवेश र विषयवस्तु समेटिएका ती चलचित्रले दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण पक्षको छ।
‘परदेशी-२’, ‘बासेन्जी’ र ‘कौसीद’का लक्षित दर्शकसमेत फरक रहेको निर्माण पक्षको भनाइ छ।
‘गोर्खा पल्टन’ र ‘परदेशी’जस्ता सफल चलचित्रको निर्देशन गरिसकेका निर्देशक नारायण रायमाझीले निर्देशन गरेको तेस्रो चलचित्र हो– ‘परदेशी–२’ हो।
अध्ययनका लागि विदेशिएका युवाको सङ्घर्ष र त्यसबाट सिर्जित पारिवारिक एवम् सामाजिक संवेदनालाई आधार बनाएर तयार गरिएको चलचित्रले गाउँ र समाजकै कथा व्यक्त गर्ने उनको दाबी छ।
निर्देशक रायमाझीले भन्छन्, ‘हामीले आफ्नै परिवेश र संस्कृतिलाई पर्दामा ल्याउनुपर्छ। आफ्ना कथा विश्वलाई देखाउनुपर्छ। मेरा चलचित्रले हाम्रै परिवेशको कथा व्यक्त गरिरहेका हुन्छन्।’
राजेश वंशलले निर्माण गरेको उक्त चलचित्रमा प्रकाश सपूत, वर्षा शिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बाँस्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायत कलाकारले अभिनय गरेको छ।
आजैदेखि प्रदर्शनमा आएको चलचित्र ‘कौसिद’ मा इमान्दार शिक्षकले भोगेका पीडा देखाइएको निर्देशक कुमार भाष्करले जानकारी दिए। उनले भने, ‘मैले एउटा इमान्दार शिक्षकले के–कस्ता समस्याबाट आफूलाई अगाडि बढाउन बाध्य हुन्छ भन्ने देखाएको छु। मैले चलचित्रमा उठाएको विषय केही अगाडि सडकमा समेत देखियो।’
चलचित्रमा अभिनेता भोलाराज सापकोटा, अभिनेत्री ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिच्छा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले अभिनय गरेका छन्।
शुक्रबारदेखि प्रदर्शनमा आएको तेस्रो चलचित्र ‘बासेन्जी’ अमेरिकी निर्देशक इयान स्कट क्लेमेन्टले निर्देशन गरेका हुन्। एक युवाको मनोविज्ञानमा आधारित चलचित्रमा अशिम निरौला, सरिता गिरी, राज शर्मा, मिथिला शर्मा, अङ्कित खड्का, प्रतीक दुलाल, निरु खड्कालगायत कलाकारले अभिनय गरेका छन्। रासस


