काठमाडौं- अभिनेता तथा हास्यकलाकार दीपकराज गिरीले केपी ओली आफूभन्दा पनि बढी व्यंग्यकार भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा उनले ओलीको प्रशंशा पनि गरेका थिए। उनले ओलीलाई डाइनामिक नेता भएको टिप्पणी गरेका थिए।
धेरै नेताहरूले आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिने गरेपनि ओली भने समायानुकूल आफूलाई परिवर्तन गर्न सक्ने क्षमता भएको नेता भएको बताए।
‘हामीले चलचित्र समयानुकूल परिवर्तन गर्दै जानुपर्छ। राजनीति भन्ने चिज शरीरको मुटु हो। राजनीतिबाट हामी टाढा बस्नै सक्दैनौं,’ उनले थपे, ‘धेरै नेताहरू आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिएको देख्छु तर केपी शर्मा ओलीमा अहिलेको समाजसँग परिवर्तन गर्दै जाने खुबी छ।’
हास्यव्यंग्यका विषयमा पनि ओली अब्बल भएको उनको भनाइ थियो। ‘हास्यव्यंग्यको कुरा गर्दा मभन्दा पनि ठूलो हास्यव्यंग्यकर्मी उहाँ हो। व्यंग्यको चेत भनेको ठूलो कुरा हो, व्यंग्य गर्न थुप्रै अध्ययन चाहिन्छ।’
उनले समयअनुसार आफूलाई अपग्रेड गर्दै लैजानुपर्ने पनि बताए।
उनले राजनीति शरीरको मुटु भएको र नेपालीहरू राजनीतिबाट हामी टाढा बस्नै नसक्ने बताए।


