२०८३ कार्तिक ११ गते मङ्गलबार

कलकत्तामा चाखेर ज्ञानप्रकाश राईले नेपाल भित्र्याएको ‘स्यान्को कट्टी रोल’

 |  हरिप्रसाद शर्मा
Sanket

हरिप्रसाद शर्मा

काठमाडौँ, कार्तिक २
roll

काठमाडौं– हामीले हरेक दिन बिहान र बेलुका खाना खान्छौं। दिउँसो बाहिर वा कार्यालयमा खाजा नखाई हुँदैन। किनकि, हामीलाई भोक मेटाउनुपर्छ। भोक मेटाउन हामी खाजा पसल गएर आफूलाई मन पर्ने र स्वादअनुसारको खाजा खान्छौं।

तर, त्यही भोक कतिपयको जीवनमा भने ठूलो व्यवसाय बन्ने रहेछ। सुन्दा अचम्म लाग्न सक्छ। तर, भोकलाई व्यवसायमा बदलेर आफूलाई सफल उद्यमीका रुपमा स्थापित गर्न सफल भएका छन्, ४५ वर्षीय युवा उद्यमी ज्ञानप्रकाश राई। उनी मानिसको भोकलाई आफ्नो व्यवसाय बनाएर अहिले आफ्नो छुट्टै पहिचान बनाएका छन्।

निरन्तरको संघर्ष र उत्तिकै मेहनत गर्ने हो भने नेपालमै आरामदायी जीवन बिताउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन, राई। देशमा बढ्दो बेरोजगारी र अशिक्षासँग पौंठेजोरी खेल्दै विभिन्न संघर्ष, आरोह, अवरोह छिचोल्दै निरन्तरको मेहनतले उनले लोभलाग्दो सफलता पाउन सफल भएका हुन्।

कुनै बेला आफैं बेरोजगार बनेका उनले अहिले हजारौंलाई रोजगारी दिएका छन्। दुई दशक लामो समयदेखि संघर्ष गरेको उनको सानो बेलाको सपनाले अहिले मूर्त रुप पाइरहेको छ। सन् २००१ मा पहिलो पटक विदेशी फ्रेन्चाइजका रुपमा स्यान्को कट्टी रोल भित्र्याएका उनले अहिले सातै प्रदेशमा आउलेट खोलिसकेका छन्।

काठमाडौंको शंखमूल मार्गमा पहिलो पटक खुलेको ‘स्यान्को कट्टी रोल’को अहिले देशभरमा गरी कुल ५८ वटा आउटलेट खुलिसकेका हुन्।

यसरी जन्मियो ‘स्यान्को कट्टी रोल’
वि.सं २०५४ सालतिर उनी भारतको कलकत्तास्थित साइन्ससिटी घुम्न गएका थिए। त्यतिबेला उनी के व्यवसाय गर्ने होला भन्ने अध्ययनमै थिए। तर, यही गर्छु भन्ने टुंगो लागेको भने थिएन। घुमघामकै शिलशिलामा उनलाई भोक लागेपछि एउटा खाजा पसलमा छिरे।

त्यहाँ उनले चिकेनसहितको रोल रोटीको स्वाद चाख्ने मौका पाए। उनलाई निकै मन पर्‍यो र, सोचे – कतै यस्तै स्वाद नेपालमा दिन सक्यो भने व्यापार राम्रै हुन्छ कि! त्यसपछि उनी नेपाल फर्के। सोचेजस्तो केही भएको थिएन उनको जीवनमा। पछि, फेरि अर्को पटक पनि २०५८ सालतिर साथीभाइसँग कलकत्ता नै घुम्ने अवसर जुर्‍यो।

नयाँ बानेश्वरको बीआईसिसीको भवनको भुँइतलाबाट उनले पहिलोपटक स्यान्को कट्टी रोल सञ्चालनमा ल्याए। त्यसबेला ६ लाख रुपैयाँ लगानीबाट सुरू गरिएको स्यान्को अहिले देशभर विस्तार भएको छ।

कलकत्ता गएर देखेको र त्यहाँ रोल रोटी खाएको अनुभवले पनि यो व्यवसाय नेपालमा राम्रो हुन्छ भन्ने सोचाइ उनमा आयो। उनले त्यहाँ खाएको रोल रोटीमा के-के राख्दो रहेछ, त्यो खाएर महसुस गरे। त्यो बनाउन के-के चाहिन्छ, केही आइडिया पनि लिएर स्वदेश फर्के।
त्यतिबेला काठमाडौंमा खाजा भनेको मःम, चाउमिन, जेरी, पुरी, सेलरोटी, चना, आलु, अण्डा हुन्थ्यो। त्यस्तो अवस्थामा उनले विदेशी स्वादसहितको रोल रोटीको फ्रेन्चाइजलाई नेपालमा भित्र्याउन खोज्दै थिए।

‘त्यतिबेला बहुत मेहनतका साथ रोटी रोल भित्र्याउन सफल भयौं। किनकि, मान्छेको एउटा खाजा खाने बानीलाई अर्को बानीमा परिवर्तन गर्नु कम चुनौतीपूर्ण थिएन,’ उनी सम्झिन्छन्, ‘खाना र खाजामा एउटा स्वादमा जिब्रो अडिएको बेला अर्को खानाको स्वादमा लैजानु निकै कठिन भयो। खाजा खर्च पनि त्यति बढी गर्ने चलन थिएन, भएकाले पनि त्यति बढी खर्च गर्दैनथे।’

उनले नयाँ बानेश्वरको बीआईसिसीको भवनको भुँइतलाबाट उनले पहिलोपटक स्यान्को कट्टी रोल सञ्चालनमा ल्याए। त्यसबेला ६ लाख रुपैयाँ लगानीबाट सुरू गरिएको स्यान्को अहिले देशभर विस्तार भएको छ।

त्यो खुसी जसले व्यावसायिक ऊर्जा भर्‍यो
बिआइसिसीमा खुलेको उनको स्यान्को रोल त्यतिबेला ठिकठिकै चलेको थियो। उनले विभिन्न कार्यालयमा पनि खाजा पुर्‍याउँथे। नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन(अनमिन)को कार्यालय पनि त्यतिबेला बिआइसिसीकै भवनमा थियो। सौभाग्यवश, एकदिन त्यही अनमिनको कार्यालयमा कार्यरत् एक विदेशी कर्मचारी आएर तीन वटा डबल चिकेनवाला रोल रोटी र एउटा कोकसमेत खाएर गए।

उनले स्वादका हिसाबले निकै राम्रो भएको प्रतिक्रिया दिएको त्यो दिन आफूलाई सबैभन्दा बढी खुसी मिलेको उनी बताउँछन्। ‘संयोगवश त्यही विदेशी अफिसरले कार्यालयका सम्पूर्ण स्टाफलाई नै ल्याएर खाजाको स्वाद लिए। त्यसले मलाई गज्जबको खुसी दियो। त्यहाँबाट नै मैले सोचेको जस्तो यात्रा सुरू भयो,’ उनले भने।

आफ्नो देशको संस्कृतिभन्दा भिन्न ठाउँको मान्छेले स्वाद राम्रो भएको प्रतिक्रियाले ठूलो खुसी मिलेको उनी बताउँछन्। ‘मैले सोचेको जस्तो स्वाद मेरै कल्चरकोले मात्र मन पराउँछन् भन्ने होइन रहेछ। कहाँ फरक मुलुक र संस्कृतिको मान्छेले स्वाद लिएर जुन प्रतिक्रिया दिए, स्वाद मन पराए, त्यो देखि म अहिले पनि खुसी हुन्छु,’ उनी सम्झिन्छन्, ‘त्यसपछि मात्र अरू नेपाली दाजुभाइहरुले पनि यो खाजा रहेछ भनेर खान थाल्नुभयो।’

बुवाको सपना आर्मी अफिसर
उनका बुवा, हजुरबुवा, काका र दाइहरू जागिरे थिए। बुवा र दाइ नेपाल आर्मीमा जागिरे थिए। तीन जना काकामध्ये दुई जना काका आर्मी नै जागिरे थिए। तर, उनलाई जागिरे जीवनशैली सानैदेखि मन पर्दैनथ्यो। उनी भन्छन्, ‘जागिरेको मानसिकता एकदमै अनुशासित हुने गर्छ। जहिले मे आई कमिन, एस, नो बाहेक अरू-अरू थिएन। यसरी नै जिन्दगी मेरो चल्दैन भन्ने सानैदेखि थियो। उहाँहरूलाई देखेर मैले के सिकें भने त्यसखालको जीवनशैली मलाई मन पर्दैन्थ्यो।’

बुवाले उनलाई जागिरे बनाउन धेरै तालिम पनि सिकाए। कहिलेकाहीँ बुवाले ‘जीवनमा के बन्ने लक्ष्य छ?’ भनेर सोध्दा चित्त नदुखोस भनेर डाक्टर र आर्मी बन्ने रेडिमेड जवाफ फर्काएको उनी सम्झिन्छन्।

‘बेला-बेला बुवाले सोध्नुहुन्थ्यो, कि बाबु तिम्रो जीवनमा के बन्ने लक्ष्य छ? मैले कहिले डाक्टर बन्ने कहिले आर्मी बन्ने भनेर बुवालाई जवाफ दिन्थें। बुवाले स्याबास्! भन्नुहुन्थ्यो,’ उनले भने, ‘बुवाको कुरालाई मैले कहिल्यै बेवास्ता गरिनँ। अह्राएको कुरा सहर्ष मान्ने र जुनसुकै काम पनि प्रयास गर्थें।’

तर, डाक्टरी जीवन पनि कहिले कता दौडियो, न परिवारसँगसँग रहन पाइन्छ, न आफ्नो व्यक्तिगत जीवनको मूल्य नै हुन्छ। यही देखेर उनले डाक्टरी पढाइ पनि बीचमै छोडे।

बुवाको सपना भने आफूलाई आर्मी अफिसर भएको हेर्न चाहने रहेको उनी बताउँछन्। ‘बुवाको सपना मलाई आर्मी अफिसरको रुपमा हेर्न चाहनुहुन्थ्यो। त्यो बेला जब म कक्षा ८ मा पढ्थें। त्यतिबेला बुवा आउँदा परिवारमा सबै नियम आर्मीकै हुन्थ्यो। १२ बजेको मध्यरातमा म सुतिरहेको बेलामा मलाई बुवाले कान्छा भनेर बोलाउनुहुन्थ्यो। यहाँ, आउ र भित्ता चढ भन्नुहुन्थ्यो। बुवाको कुरालाई बेवास्ता गर्नु हुँदैन भनेर मैले प्रयास चाहिँ गर्थें,’ उनले भने।

अबको केही वर्षमा नेपालको फुड इन्डस्ट्रीमा पहिलो पटक आइपीओमा सूचीकृत गराउने ठोस योजना छ। कृषक, स्टेकहोल्डरले पनि आफूसँग साझेदारी गर्ने गरी सेयर जारी गर्ने योजना रहेको उनी बताउँछन्।

तर, डाक्टरी पढाइ छोडेको र आर्मी पनि त्यति समर्पित नभएको देखेर बुवा चिन्तित हुनु परेको उनी बताउँछन्। एक दिन बुवाले फोन गरेर तिमी के गर्न चाहन्छौं? भनेर सोधे। ‘एक पटक बुवाले फोन गरेर के गर्दैछौ। अब तिमी आर्मी अफिसर नै बन्नुपर्छ भन्नुभयो। त्यतिबेला मैले ८-१० वर्ष व्यापारमा बिताइसकेको थिएँ। अहिले म जुन ठाउँमा छु तपाईंले बनाउन खोजेको मान्छे बन्न सकिन भनें, उहाँले केही नभनी फोन राख्नुभयो,’ उनले बताए।

तर, त्यतिबेला पनि बुवालाई छोराले केही न केही पक्कै गर्छ भन्ने विश्वास कायमै रहेको राईले सुनाए। ‘बुवाले बनाउन खोजको आर्मी अफिसर म बन्न सकिनँ। अब केही न केही राम्रो काम गर्छु, ठूलो मान्छे हुन्छु र पैसा कमाउँछु भन्ने सानैदेखि थियो,’ उनले भने।

साथीभाइले बोलाएको समारोहमा जान छोडे
जतिबेला उनले आफ्नो पढाइ बीचमै छाडे। त्यसपछि उनलाई कहाँ के गर्ने भन्ने चिन्ता र पिर थपिँदै गयो। कोही साथीभाइ भेट्दा पढ्ने र नपढ्नेबीचको छेडखानी हुन थाल्यो। ‘तिमीले पढेर के गर्छौ? त्यही ‘एस अर नो’ भन्ने त होला नि। उनीहरू पनि मलाई भन्थे – तिमीले त के गरेका छौ र तिमीबाट हामीले के सिक्ने? यी र यस्तै चियागफमा साथीहरूसँग हुन्थे,’ उनी भन्छन्।

सँगैका साथीभाइहरू पढेर जागिरे भइसक्दा राई भने बेरोजगार थिए। तर, व्यापार केही गर्न सकिन्छ भनेर बजारको अनुसन्धान भने उनले गरिरहेका थिए। उनले नयाँ र अरुभन्दा फरक के गर्न सकिन्छ बजारमा भन्ने अनुसन्धान गरिरहेकै थिए।

पछि उनी नजिकका साथीभाइका बिहे, ब्रतबन्ध वा कुनै पनि पार्टी र समारोहमा समेत गएनन्। कारण, उनका साथीभाइहरू अफिसर बनेर टाइसुट लगाएर आउने, उनीहरूको कर्पोरेट कल्चरमा भिजेका बोल्ने भाषालगायत फरक हुने। तर, राई पढाइ छाडेको र केही उद्यम सुरू गरेका थिएनन्। ‘कुनै पार्टी र समारोहमा गयो कि साथीहरूको अन्य साथीभाइसँग परिचय हुँदा सामान्य के गर्नुहुन्छ भनेर सोध्थे। त्यो प्रश्नमा म नाजवाफ हुन्थें,’ उनी भन्छन्।

अति भएपछि त साथीभाइलाई हासीमजाकमा डिडिओे (डुली डुलाई अफिस)मा काम गर्ने बताउँथे। त्यसपछि भने आफूलाई र साथीहरूलाई पनि अप्ठ्यारो महसुस हुन थालेपछि उनीहरूका पार्टी र समारोहमा जानै छोडे। ‘त्यसपछि मेरा साथीभाइहरूलाई नै अप्ठ्यारो लाग्न थालेको महसुस मैले गर्न थालें। उसलाई किन बोलाउने, उसको काम के छ र भन्ने बुझेपछि म आफू पनि उनीहरूका पार्टी तथा समारोहमा उपस्थित भइनँ,’ उनी ती दिन सम्झिँदै भन्छन्।

सेयर जारी गर्ने योजना
आगामी दिनमा मैले आफूले जे गरिरहेको छु, त्यो अनुभव अरुलाई सेयर गर्न चाहेको उनी बताउँछन्।

‘कुनै पार्टी र समारोहमा गयो कि साथीहरूको अन्य साथीभाइसँग परिचय हुँदा सामान्य के गर्नुहुन्छ भनेर सोध्थे। त्यो प्रश्नमा म नाजवाफ हुन्थें,’ उनी भन्छन्।

सिपमूलक र प्राविधिक सिकाइमार्फत् स्वदेशमै उद्यमी हुने युवाहरूलाई आफूले सहयोग गर्ने उनी बताउँछन्। शैक्षिक रुपमा पनि प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिइभिटी)को कोर्षमा पनि यस्ता अनुभव र यी कुराहरू समावेश गर्नुपर्ने उनको बुझाइ छ।

भोलिको पुस्ताका लागि पनि स्वदेशमै केही व्यवसाय गरौं भन्न भावना जागृत गर्न चाहेको उनले बताए। सानो लगानीमा उद्यमी कसरी बन्ने भनेर विभिन्न कलेज र इन्स्टिच्युटमा तालिम तथा प्रशिक्षण गर्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उनले बताए।
त्यस्तै, आफ्नो आउटलेटलाई ७७ वटै जिल्लामा पुर्‍याउने योजना उनको छ।

अबको केही वर्षमा नेपालको फुड इन्डस्ट्रीमा पहिलो पटक आइपीओमा सूचीकृत गराउने ठोस योजना छ। कृषक, स्टेकहोल्डरले पनि आफूसँग साझेदारी गर्ने गरी सेयर जारी गर्ने योजना रहेको उनी बताउँछन्।

खोटाङमा जन्मेर झापा बसाइँ सरेका राई अवसरको खोजीमा वि.सं २०५१ सालमा काठमाडौं आएका थिए। व्यावसायिक जीवनसँगै राई पछिल्लो पटक शैक्षिक संस्था र सामाजिक सेवाको क्षेत्रमा सक्रियता बढाउँदैछन्।

प्रकाशित: २०८० कार्तिक २ गते बिहिबार ०९:१०
Sanket

हरिप्रसाद शर्मा

शर्मा अर्थराजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना