काठमाडौँ- काठमाडौँको बौद्ध क्षेत्रमा लाग्ने तेमाल जात्रा सुरु भएको छ। प्राचीन कालमा तेमाल क्षेत्रका तामाङ समुदाय आएर मनाउने तेमाल जात्रा नामकरण गरिएको किंवदन्ती छ।
चैत्र शुक्ल चतुर्दशीमा लाग्ने मेलामा मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यकाका तामाङ समुदायको जात्रामा भीड लाग्ने गर्छ।
तामाङ समुदायले दिवङ्गत आफन्तको चिरशान्तिका लागि बौद्ध महास्तुपामा छ्योमी बत्ती बाल्दै लामा गुरुहरूद्वारा विशेष पूजा पाठ (ङोपा-मोन्लम) गर्ने प्रचलन छ।
चैत्र शुक्ल चतुर्दशी बेलुका पितृका नाममा बत्ती बालेका दर्शनार्थीले पूर्णिमाका दिन बिहान बालाजु बाइसधारामा स्नान गर्छन्। स्नानपछि स्वयम्भू महाचैत्यमा पुगेर पूजा पाठ गरी समापन गरिन्छ।
तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले बौद्ध स्तुपाको जीर्णोद्धार सम्पन्न भएको खुसीमा यो जात्रा सुरु गराएका थिए। सरकारले यो जात्रालाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरेको छ।













