काठमाडौं- सलमान खान, कटरिना कैफ र इमरान हासमी स्टारर फिल्म ‘टाइगर ३’ले आक्रमक व्यापार गर्ने देखिएको छ। भारतीय समचार साइट कोइमोइका अनुसार एडभान्स टिकट बुकिङलाई हेर्दा बक्स अफिसमा ‘टाइगर ३’को तुफान आउने देखिएको हो।
फिल्ममा सलमान खान अविनाश सिंह राठौड उर्फ टाइगर र कटरिना जोयाको भूमिकामा देखिनेछन्। यो फिल्ममा इमरान हासमी खलनायकको भूमिकामा देखिनेछन्। मनिष शर्माले निर्देशन गरेको यो फिल्म दिपावलीका दिन रिलिज हुनेछ। सामन्यतयाः फिल्म शुक्रबार रिलिज हुन्छन्। तर निर्माण कम्पनी एशराज फिल्म्सले ‘टाइगर ३’लाई आइतबार रिलिज गर्दैछ। यो फिल्मले दिपावलीमा रिलिज भएका फिल्महरु मध्ये सबैभन्दा ठूलो ओपनिङ गर्ने देखिएको छ।
फिल्मको एडभान्स बुकिङ हिजो (आइतबार) सुरु भएको छ। सोमबार बिहान ७ बजेसम्म फिल्मले एडभान्स बुकिङका माध्यमबाट ४.३५ करोडको कमाइ गरिसकेको छ। पुरै भारतमा फिल्मको १ लाख ४३ हजार भन्दा बढी टिकट बिक्री भएको कोइमोइले जनाएको छ। फिल्म रिलिज हुन ६ दिन बाँकी हुँदै करिब डेढ लाख टिकट विक्रि हुने कुरा चानचुने नभएको कोइमोइले उल्लेख गरेको छ।
‘टाइगर ३’ एशराज फिल्म्सको स्पाई यूनिभर्स अन्तर्गतको फिल्म हो। सन् २०१२ मा सलमानकै ‘एक था टाइगर’ फिल्म मार्फत यो यूनिभर्सको सुरुवात भएको थियो। अहिलेसम्म यो यूनिभर्सका ४ फिल्म रिलिज भइसकेका छन्। ‘एक था टाइगर’, ‘टाइगर जिन्दा हे’, ‘वार’ र ‘पठान’ बक्स अफिसमा ब्लकबस्टर सावित भएका छन्। ‘टाइगर ३’ यो यूनिभर्सको पाँचौ फिल्म हो। एडभान्स बुकिङलाई हेर्दा यो फिल्मको मल्टिप्लेक्स र सिंगल स्क्रिन दुवैमा शानदार माग देखिएको छ।
यो फिल्ममा शाहरुख खान र ऋतिक रोशनको कमियो रहने चर्चा छ। जसले फिल्मको कमाई थप बढ्नेछ।


