काठमाडौं- मनीष शर्माले निर्देशन गरेको एशराज फिल्म्सको ‘टाइगर ३’ स्पाई यूनिभर्सको फिल्ममा सबैभन्दा धेरै एक्सन दृश्यको नयाँ रेकर्ड बनाएको छ। निर्देशक शर्माले यसको खुलासा गरेका छन्।
यो यूनिभर्स अन्तर्गत यसअघि ‘एक था टाइगर’,’टाइगर जिन्दा हे’, ‘वार’ र ‘पठान’ फिल्म बनिसकेका छन्। यी सबै फिल्म बक्स अफिसमा ब्लकबस्टर साबित भएका थिए। यी सबै फिल्मका तुलनामा ‘टाइगर ३’मा सबैभन्दा धेरै एक्सन सिक्वेन्स रहेका छन्। ‘सलमान खान र कटरिना कैफ ‘टाइगर र जोया’ भारतका सबैभन्दा ठूला एक्सन जोडी हुन्। तर यो केवल एक्सनका लागि मात्रै होइन। यो उनीहरुको कहानी हो। उनीहरु एक साथ संघर्षमा छन्। जब उनी दबाबमा रहन्छन् , उनीहरुको सम्बन्ध पनि गाढा बन्छ। सोही कारण एक्सन पनि सोही अनुरुप हुन आवश्यक छ,’ निर्देशक शर्मा भन्छन्।
‘टाइगर ३’का एक्सन सिक्वेन्स हलिउडका एक्सन फिल्मका बराबर रहेको उनको दाबी छ। ‘यो फिल्ममा १२ अद्भूत एक्सन सिक्वेन्स छन्। जसमध्ये हरेक एकले तपाईलाई सिटमा बाँधेर राख्नेछ। आइम्याक्समा यी सिक्वेन्स विश्वस्तरिय देखिन्छ,’ उनले भनेका छन्, ‘हामीले यो फिल्म र यसको सिक्वेन्स यसकारण बनाएका हौं की हलमा तपाईँले अद्भुत अनुभव गर्न पाउनुहोस्।’
आदित्य चोपडाले निर्माण गरेको फिल्म आगामी आइतबार रिलिज हुनेछ। फिल्ममा सलमान, कटरिनासँगै इमरान हासमीको पनि मुख्य भूमिका छ। फिल्ममा शाहरुख खान र ऋतिक रोशनको कमियो देख्न पाइने बताइएको छ।
