फेब्रुअरी १, २०२१ को बिहान उठ्दा ४२ वर्षका ओशोको घरमा इन्टरेनट र टेलिफोन लाइन काटिएको थियो। टेलिभिजन प्रशारण स्थगित गरिएको थियो। त्यस बिहान म्यान्मारको संसद्ले नोभेम्बर २०२० मा भएको आम निर्वाचनको नतिजा अनुमोदन गर्ने कार्यक्रम थियो। तर, उक्त कार्यक्रमअघि नै सेनाले ‘कु’ गरेर सत्ता हत्यायो।
ओशोका लागि यो स्तब्धकारी भएपनि पुरै नौलोे थिएन। उनी त्यही सेनाको शासनमा हुर्किएका थिए, जसले १९८८ मै प्रजातान्त्रिक आन्दोलन दबाएको थियो। ‘धेरै पुराना चोटहरु स्मरण भयो,’ उनले भने।
ओशो उनको उपनाम हो, सेनाबाट आफ्नो पहिचान लुकाउन यो नाम राखेका हुन्। १९८८ मा कसरी सैनिक शासन लादियो र त्यो कसरी विश्वकै सबैभन्दा लामो सैन्य निरङ्कुशमध्ये एक बन्यो भन्ने ओशोले देखेका थिए। अब यस्तो नहोस् भन्ने चाहन्थें। उनलाई निरङ्कुश शासनको प्रतिरोध गर्दै देशमा शान्ति तथा न्याय स्थापना गर्नुछ।
२०२१ मा सैन्य कु हुनअघि ओशो ‘कन्सियस म्युजिसियन’ नामक समुहमा थिए। यस समुहले संगीतमार्फत जनतालाई एकजुट गराउने लक्ष्य राखेको उनी बताउँछन्। स्वतन्त्रता र अभिव्यक्तीमाथि बन्देज गर्न नहुने पक्षमा उनीहरु छन्। त्यसैले, सेनाले फेब्रुअरीमा सत्ता हातमा लिएसँगै उनीहरु पनि प्रतिरोधका लागि तयार भए।
‘हामी अन्य आन्दोलनकारीजस्तै सडकमा जान थाल्यौं। हामीसँग भएका साउन्ड सिस्टम र बाजाहरु बोकेर जान्थ्यौं। हामीले सडकमै कन्सर्ट गर्यौं,’ ओशोले भने,‘अस्थिरताबीच जुन्ताविरुद्धको र्याप जन्मियो।’
‘र्याप अगेन्स्ट जुन्ता’ समुहमा ओशोको नेटवर्कका विश्वासिला सदस्यहरुलाई समावेश गरिएको छ। म्यानमारकै चर्चित र्यापर पनि छन्। यो समूह उद्देश्य हिपहपलाई माध्यम बनाएर दमनकारी सत्ताविरुद्ध सिर्जनात्मक प्रतिरोध गर्नु हो।
हिपहप संगीतज्ञ, त्यसमा पनि विशेषगरी र्यापरहरुले प्रणालीगत अन्याय र पुलिस दमनविरुद्ध संसारभर आफ्नो असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
ग्रान्डमास्टर फ्ल्यास एन्ड द फ्युरियस फाइभले ‘द म्यासेज’ जस्ता आइकोनिक ट्रयाकहरुमार्फत अमेरिकाको विपन्न अश्वेत समुदायको कठिनाईबारे बोलेको छ। हङकङमा केही समयअघि भएको प्रहरी दमन (टियर ग्याँस र रबर बुलेट प्रयोग)को स्थानीय हिपहप कलाकारले विरोध गरेका थिए। थाइल्यान्डमा ‘र्याप अगेन्स्ट डिक्टेटरसिप’ नामक समुहले सैन्य ‘कु’ को विरोधसँगै भ्रस्ट सरकारविरुद्ध पनि सिर्जना पस्कने गरेको छ।
भिडियो
म्यानमारमा पनि यस्तै हुने गर्छ। स्थानीय हिपहप लिजेन्ड फयो जेया थ आफ्नो समुह ‘एसिड’ मार्फत सन् २००० मा निकै चर्चामा थिए। उनीहरुको पहिलो एल्बमले तत्काली सैनिक शासनमा बाँच्न बाध्य युवाहरुको पीडालाई बाहिर ल्याएको थियो। कलान्तरमा फयो जेया एक प्रजातन्त्रवादी अभियन्ता हुँदै त्यहाँको सांसद् पनि बने।
म्यान्मारमा धेरै युवा संगीतकारहरु हिपहपप्रति आकर्षित रहेको ओशोले बताए। र्यापरहरु आफ्ना शब्दमार्फत भावनालाई लिखित र फ्रिस्टाइल भर्समा अभिव्यक्त गर्न सिपालु रहेको उनले बताए। जसकारण, हिपहप एउटा क्रान्तिको आवाजजस्तो बनिरहेको छ।
सेनाले कु गरेको केही साताभित्रै र्याप एगेन्स्ट जुन्ताले यांगोनमा आन्दोलनकारीसँगै सांगितिक कार्यक्रम गरेको थियो। यो व्यवस्थित भने थिएन। प्रहरी चौकी सामुन्ने कार्यक्रम आयोजना गरिएको थियो। ‘हाम्रो कन्सर्टसामुन्ने प्रहरीको भ्यान थियो। चार–वा पाँच जनाले प्रस्तुती झन्डै एकदेखि दुई घण्टासम्म प्रस्तुती दिए,’ उनले भने।
मार्च २०२१ मा उनीहरुले गरेको दोस्रो शो भने निकै व्यवस्थित थियो। यांगोनस्थित ठूलो सपिङ मलमा यो कार्यक्रम आयोजना गरिएको थियो। तर, कार्यक्रम हुँदाहुँदै बीचमै बिजुली गयो। यसका बाबजुद पनि त्यतिबेला दिएको प्रस्तुतीलाई लिएर यो समूह निकै खुसी भएको थियो।
यस कार्यक्रमको भोलिपल्टदेखि सेनाले आन्दोलनकारीलाई गोली हान्न थाल्यो। संयुक्त राष्ट्रसंघका अनुसार म्यान्मारको सेनाले झन्डै २ हजार ८ सय ९० जनाको ज्यान लिइसकेको छ। झन्डै १२ लाख मानिस आन्तरिक रुपमा बिस्थापित भएका छन्। ७० हजारभन्दा धेरैले देश छाडेका छन्।
हजारौं भवन, क्लिनिक, स्कुल, धार्मिकस्थल पछिल्ला दुई वर्षमा जलाइएको छ। देशको अर्थतन्त्र पनि ध्वस्त भएको छ। झन्डै आधा जनसंख्या अहिले गरिबीको रेखामुनी छ। प्रहरी र सिपाहीले आन्दोलनकारीलाई टाउकोमा गोली हान्ने, घर घेर्ने र प्रजातन्त्रमा आस्था राखेको आशंकामा पक्राउ गर्ने गरेको छ।
यस्तो अवस्था र धम्कीबीच ‘र्याप अगेन्स्ट जुन्ता’ को अवस्था राम्रो छैन। तर, यसले संगीत निरन्तर बनाइरहेको छ। यो समूहले आफ्नो युट्युब च्यानलमार्फत गीत सार्वजनिक गर्ने गरेको छ। कलाकारहरुले भूमिगत नाम प्रयोग गर्छन् र अनुहार ढाक्छन्।
सेनाविरुद्ध आफ्नो असहमति प्रकट गर्न कोही पनि डराउन नहुने ओशो बताउँछन्। तर, आफ्नो वास्तविक पहिचान सार्वजनिक गर्दा कलाकारहरु सहजै पक्राउ पर्नसक्ने भएकाले यो विधि अपनाइएको उनले बताए। जुन्ताविरुद्धको लडाइँमा खडा हुनका लागि यो समूह उत्तिकै स्मार्ट हुन आवश्यक छ।
‘डिक्टेटर्स मस्ट डाइ’ नामक यस समूहको गीतमा इन्डोनोशिया, ताइवान र अन्य देशका दमनकारी सत्ताविरुद्ध लडिरहेका कलाकारहरुलाई पनि फिचर गरिएको छ। अर्को ‘ब्लड’ नामक गीत पनि छ, जहाँ म्यान्मारका विभिन्न आदिवासी समुहले आफ्नै भाषामा र्याप दिइरहेका छन्, यसले देशवासीबीचको एकतालाई झल्काउँछ।
यी ट्रयाकहरुको बिट पन्ची र आक्रामक छ। शब्द उत्तिकै शक्तिशाली। ‘ब्लड’ को कोरस यी लाइनबाट सुरु हुन्छ ः यो हाम्रो रगत हो, हाम्रो रगत। कहिल्यै सैनिक शासनको मुनी हुँदैन। र, अन्त्यसम्म हामी लड्नेछौं।’
सेनाले कलाकारको साटो राजनीतिक व्यक्तित्वलाई पक्राउ गर्न प्राथमिकता दिएकाले ‘र्याप अगेन्स्ट जुन्ता’ समुहका मानिसहरु बच्न सफल भएका थिए। तर नोभेम्बर २०२१ मा सेनाले हिपहप कलाकार फयो जेयालाई पक्राउ गर्यो। उनी आतंककारी गतिविधिमा संलग्न रहेको सेनाको आरोप थियो। गत वर्ष जुलाईमा उनलाई झुन्ड्याइयो। म्यान्मारमा दशकौंपछि कसैलाई मृत्युदण्डको सजाय दिइएको थियो।
‘उनीहरुले फयोलाई झुन्ड्याउनेछन् भनेर हामीले कहिल्यै विश्वास गरेका थिएनौं। तर अब उनी राम्रो काम गर्दा सहिद भइसके ,’ ओशोले भने।
र्याप अगेन्स्ट जुन्ता समूहलाई अब आफ्ना सदस्यहरु पनि पक्राउ पर्छन् भन्ने लागेको छ। त्यहीकारण यो समूह अझै नेपथ्यमा बस्न चाहन्छ। ‘यस्तो समयमा हामीले माइक समातेर गाउनका लागि कसैलाई भन्न सक्दैंनौं,’ ओशोले भने। तर यसको अर्थ यो समुह मौन छैन।
ओशो र डिजे साइ हल्यान दुबै अहिले देशमा छैनन्। उनीहरुले अहिले पोडकास्ट बनाइरहेका छन्। देशको वर्तमान अवस्थाबारे उनीहरु गीत बनाएर फैलाउन चाहन्छन्। ‘यो क्रान्ति लामो समयदेखि चलिरहेको छ,’ ओशोले भने, ‘म्यान्मारको अवस्था निकै कठिन छ। यो निकै चुनौतीपूर्ण छ। उनीहरुले शान्तिपूर्वक बाँच्न पाएका छैनन्। सुरक्षा, आश्रय र खानाका लागि हरेक दिन ठूलो संघर्ष गर्नुपरेको छ। हरेक क्षण, मिनेट र दिनहुँ सिर्जनशिलताको ठाउँ खुम्चदैंछ।’
–भाइसबाट


