इन्द्र शर्मा (खगेन्द्र लामिछाने) खाली खुट्टा एयरपोर्ट पुगेको दृश्यबाट फिल्म सुरु हुन्छ। विभिन्न घटनाक्रम देखिन्छन् र चुनावमा गएर फिल्म सकिन्छ। तर फिल्मभर धेरै पात्रको दिमाग खराब हुन्छ। कसले कसलाई कसरी दिमाग खराब गर्छ त? त्यो हेर्न भने हलमै पुग्नुपर्ने हुन्छ। नेपालभरका हलहरुमा शुक्रबारदेखि फिल्म चलिरहेको छ।
सबल पक्ष
फिल्ममा मूलतः दुई कथा छन्। एउटा वैदेशिक रोजगारीमा जान प्रयास गरिरहेको अतिन्यून आर्थिक अवस्थाको परिवारको कथा। र, अर्को, देशमा चलिरहेको पुराना राजनीतिक दलको गतिविधि र वैकल्पिक शक्तिबीचको उतारचढाव। दुवै कथामा खास नौलोपन नभेटिएपनि फिल्ममा कथा प्रस्तुति शैली भने रोचक छ। दुवै कथाले वर्तमान देशलाई देखाउने कोसिस गरेको छन्।
फिल्मको अभिनयबारे चर्चा गर्दा यसमा अभिनेत्री स्वस्तिमा खड्काले सबैको मन जित्न सफल भएकी छन्। उनको अभिनय निकै परिपक्व बन्दै गएको छ। अन्य फिल्महरुको तुलनामा उनी यसमा बलियो चरित्रका साथ पर्दामा उपस्थित भएकी छन्।
चरित्रमा अब्बल अभिनय गर्न सफल अर्का कलाकार हुन्, विजय बराल। बलेको भूमिकामा उनको काम गज्जवको छ। फरक फरक चरित्रमा न्याय दिइरहेका विजयको अनुहारको भावभंगी र आँखाबाट गरिएको अभिनयले दर्शकलाई उनितर्फ खिचिन बाध्य बनाउँछ।
खगेन्द्र लामिछानेको पात्र र अभिनयलाई पशुपति प्रसादमै हेरिसकिएको हो। त्यसैको पात्र टपक्क टिपेजस्तो अनुभूति हुन्छ। दयाहाङ राइको अभिनयमा पनि खासै नौलोपना भेटिँदैन।
फिल्ममा सशक्त इन्ट्री तर फितलो अभिनय भने हरि प्रसाद बराल (अर्पण थापा)को छ। उनलाई जुन तरिकाले खिचिएको छ, त्यही स्तरको अभिनय गर्न सकेका छैनन्। उनी शान्त स्वभावका छन्। खासै कुटिल पनि छैनन्। बस्! उनका दाइने हात बलेले गरेका गल्ती सच्याउनतिर उनको समय बितेको देखाइएको छ। वैकल्पिक शक्ति नै आवश्यक पर्ने गरी क्रान्ति आवश्यक भएको ठाउँमा उनको पात्रलाई अझै बलियोसँग प्रस्तुत गरेको भए मज्जा आउँथ्यो। उनको अभिनयले खास प्रभाव नपारेपनि आँखामा बिझाउने खालको भने छैन।
फिल्ममा राखिएका गीतहरुले कथा अगाडि बढाएको छ। ठाउँठाउँमा आएका हास्य रसप्रधान संवादले दर्शकहरुलाई तानिरहन फिल्म सफल छ।
किसानको कथा भन्नुअघि कृषि अनुदान र बैंकका ऋणहरुबारे अध्ययन गरिदिएको भए फिल्म झनै यथार्थपरक लाग्थ्यो। नेपालमा भएका कानुनलाई गम्भीर रुपमा हेरेर त्यसको वास्तविक चित्र उतार्न सकेको भए मज्जा आउँथ्यो। फिल्म वैकल्पिक शक्तिलाई उभ्याउने बाटोतिर लाग्दा यी तमाम कुराहरु छु्ट्न पुगेको छ।
फिल्मको खिचाइमा नौलोपना छ। सिम्बोलको प्रयोग खिचाइमा पर्याप्त मात्रामा छ। दिमाग खराब हुँदा घुमेको क्यामरादेखि वर्ग देखाउँदा बारम्बार आएको जुत्ता र चप्पलले धेरै कुराहरुलाई सहज बनाइदिएको छ। व्यवसाय गर्न चाहने युवाको बोर्ड शौचालयको ढोका बनेकोदेखि क्यामरा होल्ड भएको सम्मका दृश्यले कथा भनेको छ।
फिल्मको कमजोरी
पटकथा नै कमजोर, कथा नै कमजोर। नेपाली फिल्ममा यो पंक्ति धेरै दोहोरिए। तर सायद स्क्रिप्ट डाक्टरको कमाल हुनसक्छ, पटकथा अन्य फिल्मको तुलनामा यो फिल्ममा केही सुधारिएको छ। तर फिल्मको कथा सजिलै अनुमान गर्न सकिने र ट्विस्ट आउँदा पनि दर्शकले ‘मैले भनेको हैन यस्तो हुन्छ भनेर’ भन्ने खालको बनेको छ।
केही विषयमा भने स्क्रिनप्लेले अलि कथा स्पष्ट नपारेको भान हुन्छ। उदाहरणका लागि फिल्ममा टाइमफ्रेम र लोकेसन स्पष्ट छैन।
फिल्मले कुन कालखण्डको कथा भनेको हो दर्शकले स्पष्ट बुझ्न सक्दैनन्। यदि त्यो कथा अहिलेको थियो भने, एकछाक खाने गरिबले पनि चाइनाले सस्तोमा दिएको स्मार्टफोन बोकेको हुन्छ। सबैको हातमा नहोला, परिवारमा एक सदस्यको हातमा अवश्य एक स्मार्ट फोन हुन्छ।
फिल्ममै पनि त्यहाँका गाउँलेहरुले स्मार्टफोनमार्फत युट्युबर र अभियन्ताको भिडियो हेरेको देखाइएको छ। तर फिल्मको मुख्य पात्र भने मेमोरी बोकेर अरु कहाँ भिडियो हेर्न गएको देखिन्छ। त्यसैले ऊ कुन समयमा बाँचिरहेको पात्र हो छुट्याउन मुस्किल पर्छ। मुख्य पात्रले नपढेको पनि हैन, ऊ पढेलेखेको मानिस हो, यदि मेमोरी फोनमा लगाउन आउँदैन कि भन्ने हो भनेपनि।
त्यस्तै फिल्ममा अन्योलको अर्को विषय रहेको छ, लोकेसन। फिल्मका अधिकांश दृष्य गाउँमा छायांकन भएका छन् भने केही दृष्य काठमाडौंमा पनि खिचिएको छ। कथा थाहा नदिइकन भन्दा गाउँ र सहरबीचको कनेक्स खासै विश्वासिलो छैन। सुचिको माइति सहरमा थियो भने ऊ कसरी गाउँमा चुँडिएको चप्पल लगाउनेसँग विवाह गर्न पुगी।
सहरमा माइती भएको तर छोरीकै भविष्यका लागि श्रीमान विदेश पठाउन खोजेकी उनले किन गाउँमा अरुको घरमा भाँडा माझी? आफै सहर बसेर किन भाडा माझिन आदि आदि। हुन त यस्ता कुराहरुलाई फिल्म मेकरहरु फिल्मी उदारता (सिने लिवर्टी) का रुपमा लिन्छन् तर सामाजिक यथार्थबादी फिल्म बनाउँदा भने यी कुरामा ध्यान दिन पथ्र्यो जस्तो लाग्छ।
त्यस्तै अर्को कमजोर पक्ष भने फिल्ममा एन्टागोनिस्टको उपस्थिती हो। खलपात्रको भुमिका निकै कमजोर छ। हरिप्रसाद बराल (अर्पण थापा) को चरित्र लेखन र अभिनयले दर्शकको नजरमा उ खासै खराब प्रवृतिका छैनन्, जति फिल्मका प्रोटागोनिस्टले देखेको छ। उनका राइट-ह्यान्ड बले (विजय बराल)ले काम बिगार्दा त्यसको प्रभाव मात्रै खेपिरहेका छ खलपात्रले। त्यसैले फिल्ममा जति एन्टागोनिस्टप्रति घृणा पैदा हुनुपर्थ्यो त्यति हुँदैन। उनले भ्रष्टाचार समेत आफ्ना लागि नभई पार्टीका लागि गरेका छन्। त्यसैले फिल्मको द्वन्द अलि कमजोर हुनजान्छ।
त्यस्तै फिल्ममा चुकेको पाटो भनेको केही क्षेत्रमा अनुसन्धान पनि हो। किसानको कथा भन्नुअघि कृषि अनुदान र बैंकका ऋणहरुबारे अध्ययन गरिदिएको भए फिल्म झनै यथार्थपरक लाग्थ्यो। नेपालमा भएका कानुनलाई गम्भीर रुपमा हेरेर त्यसको वास्तविक चित्र उतार्न सकेको भए मज्जा आउँथ्यो। फिल्म वैकल्पिक शक्तिलाई उभ्याउने बाटोतिर लाग्दा यी तमाम कुराहरु छु्ट्न पुगेको छ।
फिल्म निर्माणकर्ताको ध्यानमा बैकल्पिक शक्ति हावी हुँदा यो कतै अहिले जन्मिरहेका राजनीतिक पार्टीहरुलाई खुशी बनाउन तयार पारिएको प्रोपोगान्डा फिल्म त हैन भन्ने अनुभुति समेत हुन्छ। सानो उदाहरण दिउँ, चुनावमा प्रोटागोनिस्टले बोकेको झण्डा निलो रंगको छ, र एन्टागोनिस्टले बोकेको झण्डा रातो रंगको। फिल्मको क्लाइमेक्समा जनताहरु रातो रंगको झण्डालाई कुल्चेर निलोतिर बढेको दृष्य छ। यसले निलो रंगको झण्डा भएकाहरु खुशी हुनु स्वभाविक होला, तर रातो झण्डाको आइडोलोजी पनि खराब त हैन।
नेतृत्वमा पुगेको व्यक्ति भ्रष्ट हुन्छ तर पार्टी र त्यसको आइडोलोजी हैन। इतिहासका दिनहरुमा रातो झण्डाको योगदान भुल्न हुँदैन जस्तो लाग्छ। नत्र त निलो झण्डा बोक्ने नेतृत्वकर्ताहरुमा पनि त खराब प्रवृत्तिका व्यक्तिहरु होलान् यसको अर्थ निलो झण्डा खराब त पक्कै हैन होला।
समग्रमा भन्ने हो भने, फिल्म सरल छ, सरस छ। यथार्थपरक कथामा रमाउनेहरुलाई फिल्म मनपर्छ। राजनीतिक र समसामयिक विषयमा बनेका उस्तै प्रकृतिका फिल्महरु यतिबेला हलमा लागिरहेका छन्। सबै फिल्म नबिराई हेर्ने दर्शकका लागि भने फिल्ममा खास नौलो केही दिन सकेको छैन।



