काठमाडौं- सलमान खान, कटरिना कैफ र इमरान हासमी स्टारर फिल्म ‘टाइगर ३’ले रिलिज भएको दुई दिनमै १०३ करोड ७५ लाख कमाएको छ। गत आइतबार रिलिज भएको फिल्मले पहिलो दिन हिन्दी भर्सनमा ४३ करोड कमाएको थियो।
तामिल र तेलुगु भर्सनमा फिल्मले १ करोड ५० लाखको कमाइ गरेको थियो। सोमबार फिल्मले हिन्दी भर्सनमा ५८ करोड कमाएको छ। यस्तै तामिल र तेलुगु भाषामा १ करोड २५ लाख नेट कलेक्सन गरेको छ।
योसँगै सन् २०२३ मा रिलिज भएका बलिउड फिल्म मध्ये रिलिज भएको दोस्रो दिनमा भारत भित्र मात्रै १०० करोडको आँकडा पार गर्ने तेस्रो फिल्म बनेको छ।
यसअघि सन् २०२३ को जनवरीमा रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’ र सेप्टेम्बरमा रिलिज भएको ‘जवान’ फिल्मले रिलिज भएको दोस्रो दिनमा १०० करोडको आँकडा पार गरेका थिए। ‘टाइगर ३’ले सय करोडको आँकडा पार गरेसँगै सलमानका १७ वटा फिल्मले १०० करोड भन्दा बढी कमाएका छन्। आदित्य चोपडाले निर्माण गरेको यो फिल्मलाई मनीष शर्माले निर्देशन गरेका हुन्।


