काठमाडौं- सलमान खान, कटरिना कैफ र इमरान हासमी स्टारर फिल्म ‘टाइगर ३’ ले ६ दिनमा विश्वभरबाट करिब ३३० करोडको कलेक्सन गरेको छ। योसँगै यो फिल्मले सलमानका पछिल्ला फिल्म ‘एक था टाइगर’ र ‘भारत’को लाइफ टाइम कलेक्सनलाई पछि पारेका छन्।
अब ‘टाइगर ३’ ऋतिक रोशनको फिल्म ‘ब्याङ ब्याङ’ र एसएस राजामौलीको फिल्म ‘आरआरआर’ (हिन्दी भर्सन)को कलेक्सनलाई पछि पार्ने दौडमा छ। यद्यपी ‘टाइगर ३’ले अपेक्षा अनुसारको कलेक्सन भने गर्न सकिरहेको छैन। यो फिल्मले शाहरुख खानका दुई फिल्म ‘पठान’ र ‘जवान’ अनि सनि देवलको ‘गदर २’को झैं धमकेदार व्यापार गर्ने अपेक्षा गरिएको थियो। तर, दिपावलीको समयमा फिल्म रिलिज गरिनु र विश्वकप क्रिकेट पनि चलिरहेकाले फिल्मको कलेक्सनमा असर परेको बताइएको छ।
मनीष शर्माले निर्देशन गरेको यो फिल्म स्पाई यूनिभर्सको पाँचौं र टाइगर फ्रेन्चाइजीको तेस्रो फिल्म हो। बलिउड समचार साइट कोइमोइका अनुसार फिल्मले ६ दिनमा विश्वभरबाट ३३० करोडको ग्रस कलेक्सन गरेको छ। योसँगै टाइगर फ्रेन्चाइजीको पहिलो फिल्म ‘एक था टाइगर’को लाइमटाइम कलेक्सनलाई ‘टाइगर ३’ले पछाडी पारेको छ।
कविर खानले निर्देशन गरेको ‘एक था टाइगर’ले ३२० करोडको कलेक्सन गरेको थियो। यस्तै ‘टाइगर ३’ले फिल्मले विवेक अग्निहोत्रीको फिल्म ‘कश्मिर फाइल्स’को विश्वव्यापी लाइफटाइम कलेक्सनलाई पनि पछि पारेको छ। ‘कश्मिर फाइल्स’ले ३२६.९५ करोडको कलेक्सन गरेको थियो। ‘टाइगर ३’ले सलमानको अर्को फिल्म ‘भारत’लाई पनि पछि पारेको छ।
‘भारत’ फिल्मले विश्वभरबाट ३२३.०३ करोडको कलेक्सन गरेको थियो। अब ‘टाइगर ३’ ऋतिक रोशनको ‘व्याङ व्याङ’को आँकडा नजिक छ। ‘व्याङ व्याङ’ले विश्वभरबाट ३४० करोडको कलेक्सन गरेको थियो। यस्तै ‘आरआरआर’ले विश्वभरबाट हिन्दी भर्सनमा ३४२ कोरोडको कलेक्सन गरेको थियो।
