इजिप्ट- इजरायल र प्यालेस्टाइनी इस्लामिक समूह (हमास)बीच युद्धको केन्द्रबिन्दु गाजाको सबैभन्दा ठूलो अस्पतालबाट उद्धार गरिएका २९ शिशुलाई सोमबार इजिप्ट ल्याइपुर्याइएको छ। यीमध्ये अधिकांश शिशु महिना नपुग्दै जन्मिएकाहरू भएको बताइएको छ।
इजरायलले उक्त अस्पतालको मुनि सुरुङमा हमासको अखडा रहेको हुनसक्ने भन्दै अस्पताल खाली गर्न निर्देशन दिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले आइतबार ‘डेथ जोन’ को संज्ञा दिएको अल–शिफा अस्पतालबाट ती शिशुलाई उद्धार गरी इजिप्ट ल्याएको हो।
इजिप्टको सरकारी सञ्चारमाध्यम अल–काहेरा न्यूजका अनुसार ती शिशुहरू इजरायलको नियन्त्रणमा नरहेको प्यालेस्टाइनी क्षेत्रमा प्रवेश गर्ने र बाहिरिने एक मात्र नाका राफा क्रसिङ हुँदै इजिप्ट आइपुगेका हुन्।
सुरुमा ३१ जना बच्चालाई अल–शिफाबाट गाजाको अर्को क्लिनिकमा लगिएको र २९ जना मात्र इजिप्ट किन आए भन्नेबारे खुलाइएको छैन।
अल काहेरा न्यूजका अनुसार सोमबार स्थानान्तरण गरिएका शिशुलाई ‘इन्क्युबेटर’मा राखिएको छ।
यसैबीच गाजा पट्टीबाट ४५ किलोमिटर पश्चिममा रहेको एल अरिश अस्पतालमा पुर्याइएका सबै शिशुको उपचार हुन नसक्ने एक चिकित्सकीय स्रोतले एएफपीलाई बताएको छ।
‘एल अरिश अस्पतालमा पर्याप्त ‘इन्क्युबेटर’ छैनन् र केही बच्चालाई इस्माइलिया वा कायरोमा स्थानान्तरण गर्नुपर्ने देखिएको छ,’ स्रोतले भनेको छ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले संयुक्त राष्ट्रसङ्घ र प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीको संयुक्त पहलमा ३१ शिशुलाई सारिएको बताएका छन्।
रेड क्रिसेन्टले भनेको छ, ‘चिकित्सकीय सामग्रीको अभाव र अल–शिफा अस्पतालमा सङ्क्रमण नियन्त्रणका उपायहरू जारी राख्न असम्भव भएका कारण सबै बच्चाहरू गम्भीर सङ्क्रमणसँग लडिरहेका छन्।
हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले कुनै पनि शिशु परिवारका सदस्यसँग नरहेको डब्लुएचओले प्रारम्भिक उद्धारका क्रममा जनाएको छ।


