काठमाडौं- शाहरुख खान र राजकुमार हिरानले यसअघि धेरै पटक एकै फिल्ममा काम गर्ने कोशिश गरेका थिए। तर, उनीहरुबीच सहकार्य हुन सकेको थिएन। तर अहिले यी दुवैले ‘डंकी’ फिल्ममा सहकार्य गरेका छन्।
यो फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ। यो शाहरुखको सबैभन्दा प्रतिक्षित फिल्म हो। फिल्मको टिजरलाई दर्शकले निकै मन पराएका छन्। यो फिल्मको पहिलो गीत पनि सार्वजनिक भइसकेको छ। ‘डंकी’को बजेटलाई लिएर अनेक अनुमान गरिदै आइएको छ। फिल्मको सुटिङ ‘जवान’सँगै सुरु भएको थियो।
शाहरुखका फिल्म सुटिङका लागि लामो समय लाग्ने गर्छ। तर ‘डंकी’लाई जुन गतिमा बनाइएको छ, त्यो आश्चर्यजनक छ। पिंकभिल्लाका अनुसार ‘डंकी’को प्रोडक्सन लागत केवल ८५ करोड रुपैयाँ हो। यद्यपी यसमा अभिनेताहरुको पारिश्रमिक समावेश छैन। फिल्मले कमाउने मुनाफाबाट पारिश्रमिक लिने गरी निर्देशक हिरानी र कलाकारले काम गरेको बताइएको छ। प्रिन्ट र प्रचार सहित फिल्मको बजेट करिब १२० करोड रहेको बताइएको छ।
हिरानी एक कुशल निर्देशक हुन्। उनले फिल्ममा सावधानीपूर्वक खर्च गर्ने गरेका छन्। उनले ‘डंकी’को सुटिङ केवल ७५ दिनमा पुरा गरेका थिए। जसमा शाहरुखले ६० दिन सुटिङ गरेका थिए।
‘डंकी’को बजेट पछिल्ला ६ वर्षमा आएका शाहरुख फिल्म मध्ये सबैभन्दा कम भएको बताइएको छ। फिल्मले रिलिज अघि नै डिजिटल राइट्स बेचेर सय करोड कमाइसकेको छ। यसको अर्थ फिल्म रिलिज अघि नै प्रोफिट जोनमा छ। फिल्ममा शाहरुखसँगै तापसी पन्नु, विक्की कौशल लगायतले अभिनय गरेका छन्।
