काठमाडौँ- लक्ष्मण सुवेदीको निर्देशनमा तयार भएको सिनेमा ‘सतीदेवी’को फर्स्टलुक सार्वजनिक गरिएको छ। अभिनेत्री मलिका महतलाई प्रस्तुत गरिएको चलचित्रको पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा मालिकालाई जुत्ताको माला र कालोमोसो दलेर गाउँलेहरुले लखेटिरहेको देखिन्छ। पोस्टरको पृष्ठभूमिमा गाउँको परिवेश देखाउन खोजिएको छ। पोस्टरले ग्रामीण महिलाले गरेको संघर्षको कथा हुन सक्ने संकेत गरेको छ।
पोस्टरमा मलिका रातो रंगको कुर्था सुरुवालमा प्रस्तुत छिन्। रातो विद्रोहको रंग हो। मलिकालाई विद्रोही स्वभावमा प्रस्तुत गरेको हुनसक्ने पोस्टरबाट अनुमान गरिएको छ। मालिकालाई पोस्टरमा जुन रुपमा प्रस्तुत गरिएको छ, त्यसले सिनेमाप्रति दर्शकमा उत्सुकता जगाउन सक्नेछ।
निर्देशक सुवेदी स्वयंको निर्माण, लेखन र गीत रचना रहेको सिनेमामा श्रीदेवी सुवेदी निर्माताको रुपमा छिन्। सिनेमामा मलिकाका अलवा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको अभिनय रहेको छ।
दिलासा र साराको प्रस्तुतिमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रियशनले निर्माण गरेको सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन।
बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुभाष भुषालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सम्राट थापाको पार्श्व संगीत रहेको छ।


