उत्तराखण्ड- भारतको उत्तराखण्ड राज्यको सुरुङमा फसेका ४१ कामदारको उद्धारको काम अझै ढिला भएको छ। सुरुङभित्र पठाइएको ड्रिलिंग मेसिन बिग्रिएपछि उनीहरूको उद्धार गर्न अझै कम्तीमा चार दिन लाग्ने बताइएको छ।
अब ड्रिलिङ मेसिनको बिग्रिएको भाग हटाएर उद्धारकर्ताहरूले म्यानुअल रूपमा खन्ने काम सुरु गर्ने बताएका छन्। पहिरोका कारण सुरुङको एक भाग भत्किएपछि दुई सातादेखि सुरुङभित्र कामदार थुनिएका छन्।
चट्टान, ढुङ्गा र धातु रहेकाले उद्धारकार्य चुनौतीपूर्ण भएको उद्धारकर्ताले बताएका छन्। एक मेसिन बिग्रिएपछि नयाँ मेसिन पर्खनुको सट्टा म्यानुअल रुपमा नै ड्रिलिङमा गर्दा राम्रो हुने उद्धारकर्ताले बताएका छन्।
उद्धार कार्यमा सघाउने सुरुङ विज्ञ अर्नोल्ड डिक्सले घटनास्थलमा पत्रकारहरूलाई भने, ‘मेसिन बिग्रिएको छ। यो अपूरणीय छ। यो अवरुद्ध भएको छ।’ ४१ कामदार घर फर्कनेमा उनी विश्वस्त छन्।
भारतीय हिमालयमा रहेको ४.५ किलोमिटर (३ माइल) सिल्कियारा सुरुङको एउटा खण्डमा नोभेम्बर १२ पहिरो गएको थियो।
उनीहरु फसेको केही समयमै सम्पर्क स्थापित भएको थियो। उनीहरूले त्यसबेलादेखि नै अक्सिजन, खाना र पानी प्राप्त गर्दै आएका छन्।
उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै क्षतिग्रस्त ड्रिलिंग मेसिन आइतबार बिहान बाहिर निकालिने बताए। उद्धारकर्ताहरूलाई म्यानुअल रूपमा खन्न अनुमति दिइएको उनको भनाइ छ।
आफूले फसेका मानिसहरूसँग कुरा गरेको बताएका मुख्यमन्त्रीले भने, ‘उनीहरू राम्रो अवस्थामा छन्। उनीहरूले मलाई जति दिन लागे पनि आफूहरुको चिन्ता नलिइकन काम गर्न उनीहरुले मसँग भनेका छन्।’
यसैबीच सुरुङबाहिर एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ। अधिकारीहरूले कामदारहरूलाई सुरक्षित स्थानमा बाहिर निकालेर सकेसम्म चाँडो नजिकैको अस्पतालमा लगिनेछ।
चारदिनअघि लिइएको भिडियो फुटेजमा उद्धारकर्ताले पठाएको क्यामेरामा उनीहरु देखिएका छन्। उनीहरुसँग कुराकानी पनि भइरहेको छ। खानपान र अक्सिजनको व्यवसस्थाका कारण उनीहरु आत्तिने अवस्थामा नरहेको उद्धारकर्ताको दाबी छ।
बीबीसीको फुटेज


