काठमाडौं- पछिल्ला ४ वर्षयता भारतीय फिल्म उद्योगका सबैभन्दा प्रसिद्ध निर्देशक मध्येका एक हुन्- प्रशान्त निल। उनले यो अवधिमा ‘केजिएफः च्याप्टर १’ र ‘ केजिएफः च्याप्टर २’ जस्ता यादगार फिल्म दिएका छन्। यी दुवै फिल्ममा स्टार यशको मुख्य भूमिका थियो। अब निलको निर्देशनमा डिसेम्बर २२ मा फिल्म ‘सलार’ रिलिज हुँदैछ। यो फिल्ममा प्रभासको मुख्य भूमिका छ।
उनले बलिउड समचार साइट पिंकभिल्लासँग कुरा गर्दै ‘सलार’मा दुई जना साथीको कथा रहेको बताएका छन्। उनले भनेका छन्, ‘सलार दुई जना साथीको कथामा आधारित फिल्म हो। जो पछि एकअर्काको दुश्मन बन्छन्। मित्रता फिल्मको मूल भावना हो। फिल्मको ट्रेलर डिसेम्बर १ मा रिलिज हुनेछ।’
आफूले सँधै भावनात्मक फिल्म लेख्ने गरेको भन्दा ‘सलार’ पनि यस्तै फिल्म भएको बताए। उनले यो फिल्म केएजिएफ फ्रेन्चाइजी भन्दा फरक रहेको बताएका छन्। ‘सलार र केजिएफ फ्रेन्चाइजीमा अलग-अलग कथा छन्। भावना पनि अलग छ। दर्शकले सलारसँग केजिएफकै जस्तो अपेक्षा गर्न हुँदैन। सलारको आफ्नै एक दुनियाँ छ,’ उनले भनेका छन्।
उनले फिल्मका नायक प्रभासको प्रसंशा गर्दै उनी एक सच्चा व्यक्ति भएको बताएका छन्। उनको व्यक्तित्व फिल्मका लागि एकदमै सही भएको बताए। उनले पहिला केजिएफ फ्रेन्चाइजीमा दुई भाग नसोचेको तर ‘सलार’ दुई भागमा बनाउने विषय पहिले नै तय भएको बताए।
‘केजिएफ पहिला दुई भागवाला कथामा आधारित थिएन। तर सलार पहिले देखि नै दुईभागमा बनाउने तय भएको छ। यसको कथा यति ठूलो छ कि ६ घण्टाको एउटा राम्रो फिल्म बन्न सक्छ,’ उनले भनेका छन्, ‘हामीसँग दोस्रो भागका लागि पनि पर्याप्त कथा छ। दर्शकले यसको पहिलो भाग हेरेर यसलाई महसुस गर्न सक्छन्। यो एक शुद्ध कहानीमा आधारित फिल्म हो। मैले केजिएफमा काम सुरु गर्नुभन्दा पहिले नै यसको कथा लेखेको थिएँ।’
उनले ‘सलार’को दोस्रो भागको सुटिङ पनि चाँडै सुरु गर्ने बताए। यो फिल्ममा प्रभास, पृथ्विराज र श्रृति हसनको मूख्य भूमिका छ।


