मध्यप्रदेश (भोपाल)- भारतीय राज्य मध्यप्रदेशको मुख्यमन्त्री भारतीय जनता पार्टी (भाजपा)का विधानसभा सदस्य मोहन यादव बन्ने भएका छन्। भाजपाले उनलाई मध्यप्रदेशको मुख्यमन्त्रीमा बनाउने घोषणा गरेको हो। यादवलाई मुख्यमन्त्री बनाउने गरी सोमबार पार्टी संसदीय दलको नेतामा यादव निर्वाचित गरिएको छ।
प्रदेशमा दुई उपमुख्यमन्त्री रहनेछन्। जागदीश देवा र राजेन्द्र शुक्लाले उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् भने नरेन्द्र सिंह तोमर विधानसभाको अध्यक्ष (सभामुख) हुनेछन्।
यादव तेस्रो पटक सांसद बनेका छन्। उनी यसअघिका मुख्यमन्त्री शिवराज सिंह चौहानको सरकारमा उच्च शिक्षामन्त्री थिए। चौहान मध्यप्रदेशमा १६ वर्ष मुख्यमन्त्री रहे। यादवको नाम घोषणासँगै शिवराज सिंह चौहानलाई पार्टीले दिने जिम्मेवारीका विषयमा चर्चा हुन थालेको छ।
हालै भएको भएको विधानसभा चुनावमा भारतीय जनता पार्टीले राज्यका २३० विधानसभा सिटहरूमध्ये १६३ सिट जितेको छ। चुनावअघि भाजपाले मुख्यमन्त्रीका लागि कुनै पनि नेताको नाम अघि सारेको थिएन।
मोहन यादव सन् २०१३ मा पहिलो पटक विधायक बनेका थिए। उनीहरु आरएसएसको नजिक छन्। मोहन यादव अखिल भारतीय विद्यार्थी परिषद्सँग पनि जोडिएका छन्। उनी मध्य प्रदेश कुस्ती संघका अध्यक्ष पनि हुन्।
भाजपाले मुख्यमन्त्री बनाउने निर्णय लिनुअघि मुख्यमन्त्रीका रूपमा मोहन यादवको नाम सायदै कसैले सुनेका थिए। तर स्थानीय तहमा उनको नामको चर्चा भएको उनकी बहिनीले दाबी गरेकी छन्। समाचार एजेन्सी एएनआईका अनुसार मोहन यादवकी बहिनीले भनिन्, ‘दाजु मोहन मुख्यमन्त्री बन्ने विषयमा चर्चा चलेको थियो। तर यकिन रूपमा भन्न सक्ने अवस्था थिएन।’ मोहन यादवकी बहिनीले दाजुलाई मेहनतको फल मिलेको भन्दै खुशी व्यक्त गरिन्।
पछिल्ला आठ दिनमा मध्यप्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा धेरैको नाममा प्रतिस्पर्धा भइरहेको थियो। तर मोहन यादवले आफू मुख्यमन्त्री बन्ने दाबी गरेका थिएनन्। संसदीय दलको नेता चयन भएको भन्दै एकाएक टीभी स्क्रिनमा मोहन यादवको नामले चर्चा पाएको थियो।

मोहन यादव धेरै पहिल्यैदेखि छात्रसंघमा आबद्ध थिए। उनी लामो समय अखिल भारतीय विद्यार्थी परिषदसँग आबद्ध भएका थिए।
सन् १९८२ मा उनी माधव विज्ञान कलेज छात्रसंघका सहसचिव भएका थिए। सन् १९८४ मा अध्यक्ष भए। १९८४ मा उनी उज्जयनीको अखिल भारतीय विद्यार्थी परिषदको नगरमन्त्री बने। र सन् १९८६ मा विद्यार्थी विभाग प्रमुख बनेका थिए।
सन् २००२-२००३ मा उनी भाजपाको नगरजिल्ला महामन्त्री बने। सन् २००४ मा भाजपाको क्षेत्रीय कार्य समितिको सदस्य बने। उनी सन् २०११ मा मध्यप्रदेश राज्य पर्यटन विकास निगमको अध्यक्ष बनेका थिए। यो पद प्रदेशको क्याबिनेट मन्त्रीसरह थियो। सन् २०१३ मा उनी पहिलोपटक विधान सभा सदस्यमा चुनिएका थिए। सन् २०१८ मा दोस्रो पटक विधायक बनेका उनी २०२० मा राज्यको शिक्षामन्त्री नियुक्त भएका थिए।
विज्ञान र कानुन विषयका स्नातक यादवले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। वाणिज्य प्रशासनमा स्नातकोत्तर (एमबीए) उनी विद्यावारिधि उपाधिप्राप्त पनि हुन्।
सन् १९६५ मा जन्मिएका यादवका बाबुको नाम पुनमचन्द यादव हो। मोहन यादव र उनकी श्रीमती सीमाका दुई छोरा र एक छोरी छन्।
मिडिया रिपोर्टका अनुसार निवर्तमान मुख्यमन्त्री शिवराजसिंह चौहानले नै यादवलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका थिए। उनैको प्रस्तावलाई भाजपाले पारित गरेको हो। चौहानले मध्यप्रदेशमा १६ वर्षसम्म मुख्यमन्त्री बनेर सेवा गरेका थिए।

चौहान (बायाँ) र यादव।
यो विषयमा मिडियाले निवर्तमान मुख्यमन्त्री शिवराजसिंह चौहानलाई प्रश्न गरेका थिए। तर चौहानले प्रष्ट रूपमा भन्न अस्वीकार गरेका छन्। यादवलाई मुख्यमन्त्री बनाउने घोषणा हुनुअघि शिवराज सिंह, नरेन्द्र तोमर र प्रह्लाद पटेललगायतका भाजपा नेताहरू मुख्यमन्त्रीको दौडमा रहेको बताइएको थियो।
मध्यप्रदेशमा चुनावी नतिजाको अनुमान डिसेम्बर ३ मा नै भएको थियो। हरियाणा मुख्यमन्त्री मनोहर लाल खट्टर, र पर्यवेक्षकको उपस्थितिमा विधायकहरूको बैठक बसेको थियो। बैठकले मोहन यादवलाई मुख्यमन्त्री बनाउने निर्णय गर्दै संसदीय दलको नेता चयन गरेको थियो। सोमबार मध्यप्रदेशको राजधानी भोपालमा संसदीय दलको बैठक बसेको थियो।
राजनीतिक पण्डितहरूलाई आश्चर्यमा पार्दै उज्जयनीका विधायक डा मोहन यादव मुख्यमन्त्रीको पदमा पुगेका हुन्। यसअघि उनी मुख्यमन्त्री बन्ने चर्चा राजनीतिक वृत्तमा थिएन। यादवले मध्यप्रदेशका राज्यपाल (गभर्नर) मंगुभाई पटेलसँग भेट गरी आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गरिसकेका छन्। त्यसअघि शिवराजसिंह चौहानले राज्यपाललाई राजीनामा बुझाएका थिए।
‘म जस्तो सानो नेतालाई यस्तो जिम्मेवारी दिनुभएकोमा केन्द्र र प्रदेश नेतृत्वलाई धन्यवाद। भारतीय जनता पार्टी भनेकै यही हो। यद्यपि म यो पदका लागि योग्य होइन। तर पनि तपाईंहरू सबैको प्रेम र आशीर्वाद तथा सहयोग मिले निश्चित रूपमा म कोशिश गर्नेछु। फेरि एक पटक यहाँहरूलाई धन्यवाद र हार्दिक आभार,’ संसदीय दलको नेतामा चयन भएपछि मोहन यादवले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको विकासको सपनालाई लिएर हामी अघि बढ्नेछौँ।’
मोहन यादवलाई मुख्यमन्त्रीमा बनाउने घोषणा गर्दै मध्यप्रदेश भाजपाका अध्यक्ष बीडी शर्माले संसदीय दलको नेताका लागि उनको नाम प्रस्ताव गरिएको बताएका थिए। छलफलमा नरेन्द्र सिंह तोमर, कैलाश विजयवर्गीय र प्रल्हाद पटेललगायत सबै वरिष्ठ नेताहरू पनि उपस्थित थिए।
मोहन यादवलाई मुख्यमन्त्रीमा बनाएर भाजपाले राम्रो काम गर्ने सन्देश दिन खोजेको राजनीतिक जानकारहरू बताउँछन्।
बिहारमा भएको जातिगत सर्वेक्षणको नतिजा आएपछि विपक्षी दलको गठबंधन ‘इंडिया’का साथै कांग्रेसलगायतका दलले पिछडिएको वर्ग (ओबीसी)को राजनीतिक सहभागितालाई मुद्दा बनाएका छन्।
शिवराजसिंह चौहान ओबीसीलाई नै प्रतिनिधित्व गर्दथे। र उनको स्थानमा आउन लागेका यादव पनि ओबीसीलाई नै प्रतिनिधित्व गर्छन्। जानकारहरूका अनुसार उनीहरूको नियुक्तिले बिहार र उत्तरप्रदेशमा भाजपाको दृष्टि प्रष्ट हुन्छ। चौहानलाई लगातार मुख्यमन्त्री बन्नबाट रोकेर भाजपाले सरकारका विरुद्ध उठेका आवाजलाई थामथुम पार्ने कोसिस भाजपाले गरेको केही विश्लेषकको मत छ।
–बीबीसी हिन्दीबाट



