काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू दोहोरो चपेटामा परेको गुनासो गरेका छन्। बुधबार शेखर कोइराला समूहको बैठकमा गगनले यस्तो गुनासो गरेका हुन्।
आफूले आफ्नै समूहसँग पनि र सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवासँग पनि भिड्नुपरेको भन्दै उनले गुनासो गरेका थिए। समूह एकताबद्ध नहुँदा आफू दोहोरो चपेटामा परेको उनको आशय थियो।
थापाले १४औं महाधिवेशनबाट बनेको शेखर–गगन समूह एकताबद्ध हुन नसकेकामा असन्तुष्टि जनाए। आफूले समूहभित्रै र पार्टी सभापतिसँग पनि भिड्नुपरेको भन्दै थापाले भनेका थिए, ‘समूह एकताबद्ध हुने हो भने देउवासँग भिडौं, हाम्रो समूहमा नभिडौं।’
बैठकमा उनले पार्टीका नेता डा शेखर कोइरालालाई संसदीय दलको नेता बनाउने प्रयास थाल्नुपर्ने बताएका छन्। बुधबार शेखर कोइराला समूहको बैठकमा गगनले यस्तो आह्वान कांग्रेस नेताहरूलाई गरेका हुन्।
‘हामी एकतावद्ध भएर संसदीय दलको नेता फेर्न लागौं। देउवा नै प्रधानमन्त्री हुने अवस्था भयो भने २०८२ मा महाधिवेशन हुन सक्दैन,’ थापाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने।
हाल कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेता छन्। कांग्रेसका पार्टीबाट सरकारको नेतृत्व गर्दा संसदीय दलको नेताले गर्ने व्यवस्था छ।
हालको सत्ता गठबन्धनका दलहरुबीच सत्ता साझेदारी गर्ने सहमति अनुसार पुष्पकमल दाहाल प्रचण्डपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने नेताहरुले बताएका छन्।
