काठमाडौं- सन् २०२३ मा शाहरुख खानले ‘पठान’ जस्तो एउटा यस्तो ब्लकबस्टर फिल्म दिए, जो महामारीपछि बलिउडलाई आवश्यक थियो। शाहरुखले गत सेप्टेम्बरमा अर्को बल्कबस्टर फिल्म ‘जवान’ दिए। यो फिल्मले बक्स अफिसमा सफलताको नयाँ इतिहास रच्यो। अहिले उनी अभिनित फिल्म ‘डंकी’ सिनेमाघरमा चलिरहेको छ। यो फिल्मले पनि ठिकठाकै व्यापार गरिरहेको छ। ‘जवान’ र ‘डंकी’मा शाहरुखले जवान र वृद्ध दुवै भूमिका निभाएका छन्।
‘डंकी’को प्रमोशनका बेला मिडियाले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफू वृद्धको भूमिका निभाउन मन पर्ने बताएका छन्। ‘म ५८ वर्षको भइसकेको छु। अब मैले उमेर केन्द्री भूमिका निभाउनुपर्नेछ। कुनै फिल्ममा यस्तो भूमिका प्राप्त भयो भने म त्यसलाई निभाउनेछु। जवानमा वृद्धको भूमिका म माथि जच्यो,’ उनले भनेका छन्, ‘म पहिलो पटक उमेरका हिसाबले डंकीमा सबैभन्दा इमान्दार भएको छु। डंकीमा हार्डीको वृद्धरुपको उमेर ६० देखि ६५ वर्षको होला। यो उमेर मेरो वास्तविक उमेरको नजिक छ।’
यद्यपी उनले २७ वा २८ वर्षको उमेरवाला पात्र पनि निभाउन जारी राख्ने बताएका छन्। ‘जवान’, ‘पठान’ र ‘डंकी’ पछि उनी नयाँ फिल्मको तयारीमा जुटेका छन्। उनले नयाँ फिल्म मार्च वा अप्रिलबाट सुरु गर्ने बताएका छन्। उनले नयाँ फिल्ममा आफ्नो वास्तविक उमेर सुहाउँदो पात्रको भूमिका निभाउन लागेको बताएका छन्। ‘अब एक यस्तो फिल्म गर्ने कोशीसमा छु। जसमा मेरो वास्तविक उमेरसँग मिल्दो पात्र हुनेछ। म यसमा एक हिरो र फिल्म स्टारको भूमिका निभाउन चाहान्छु,’ उनले भनेका छन्।


