काठमाडौं- पछिल्लो १५ वर्षमा कवीर खान आफ्नो फिल्मोग्राफीमा ‘काबुल एक्सप्रेस’, ‘न्यूयोर्क’, ‘एक था टाइगर’, ‘बजरंगी भाइजान’ र ‘८३’ जस्ता फिल्मका साथ सबैभन्दा सम्मानित निर्देशक मध्येका एक बनेका छन्। उनी अहिले कार्तिक आर्यनलाई लिएर ‘चन्दु च्याम्पियन’ बनाइरहेका छन्। यो फिल्म साजिद नाडियाडवालाले निर्माण गरेका हुन्। यो फिल्म २०२४ को जुनमा रिलिज गर्ने तयारी छ।
यो फिल्मपछि कवीरले आफ्नो महत्वकांक्षी परियोजनाको सुटिङ गर्ने तयारीमा रहेको पिंकभिल्लाले जनाएको छ। समचार अनुसार कवीरको महत्वकांक्षी फिल्मको नाम ‘बब्बर शेर’ हो। यो फिल्मलाई सुमित अरोडाले लेखेका हुन्। फिल्मका लागि कवीर ठूला स्टारलाई साइन गर्ने तयारीमा छन्। जनवरी देखि कास्टिङको काम सुरु हुने बताइएको छ। ‘कवीरले पहिले नै फिल्मको थिम एक एक ठूला सुपरस्टारलाई सुनाइसकेका छन्। उनले फिल्ममा काम गर्ने इच्छा देखाएका छन्,’ पिंकभिल्लाले लेखेको छ।
यो फिल्मको सुटिङ २०२४ को मध्यबाट सुरु हुने बताइएको छ।


