काठमाडौँ- पत्रकारसँग कुरा गरिरहेका बेला दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे म्युङमाथि छुरा प्रहार भएको छ। कोरियाली समाचार एजेन्सीका अनुसार आक्रमणकारीलाई बुसानस्थित घटनास्थलबाटै पक्राउ गरिएको छ।
दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणमा रहेको बेला नेता ली माथि आक्रमण भएको योनहाप समाचार एजेन्सीले जनाएको छ।
लीलाई एक अज्ञात व्यक्तिले घाँटीको देब्रे भागमा छुरा प्रहार गरेका हुन्।
लीको अटोग्राफ माग्दै उनी नजिक पुगेका थिए। त्यसपछि अचानक अगाडि बढेर उनीमाथि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
५९ वर्षीय ली गत वर्ष राष्ट्रपतीय निर्वाचनमा कन्जरभेटिभ पार्टीका युन सुक येअोलसँग पराजित भएका थिए। उनको अहिले अस्पतालमा उपचार भइरहेको छ।
