काठमाडौँ- आरती साहका लागि न्यायको माग गर्दै राष्ट्रिय मानव अधिकार आयाेग अगाडि प्रदर्शन गरिएको छ। साहका आफन्त तथा परिवारले आयोग अघि प्रदर्शन गरेका हुन्।
साहका लागि आफन्त तथा परिवारले २०१ दिनदेखि न्यायको माग गर्दै आइरहेको छ। मंगलबार बिहान साहकाे परिवार र समर्थकले मानव अधिकार आयाेग अगाडि विराेध प्रदर्शन गरेका थिए।
मानव अधिकार आयोगका मधेस प्रदेश प्रमुख मञ्जु खतिवडाले आफूहरूको विषयमा गलत प्रतिवेदन बनाएको भन्दै त्यसलाई मान्यता नदिन आग्रह गरेपनि आयोगले त्यसलाई बेवास्ता गरेको उनीहरुको आरोप छ।
प्रदर्शनका क्रममा प्रहरीले ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आरती साहको दाजु, बुबा, अभियन्ता जस्मिन ओझा, विनु यादव, कृतिका यादव, दीपक गुप्ता लगायत छन्।
धनुषाको मिथिला बिहारी नगरपालिका-३ मिथिलेशवर मौवाही घर भई जनकपुरधाम-९ थापाचोकमा रहँदै आएकी साहको दाइजोका कारण हत्या गरिएको माइतीपक्षको आरोप छ। साहको मृत्यु हुँदा उनी दुई महिनाकी गर्भवती रहेको बताइँदै आएको छ।
साहको शव उनी सुत्ने कोठामा पासो लगाई झुण्डिएको अवस्थामा गत जेठ ७ गते भेटिएको थियो।


