काठमाडौं– गायक निर्मलराज पौडेल १५ वर्षपछि गायनमा फर्किएका छन्। ‘छम्म नाचौँ, छप्प नाचौँ’ बोलको गीतबाट उनले गायनमा पुनरागमन गरेका हुन्।
गीतको हालै दृश्य सामग्री छायांकन गरिएको छ। नाच्ने शैलीमा तयार भएको गीतमा चर्चित कलाकारहरुले अभिनय गरेका छन्।
गीतमा सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धिरेन शाक्य, रवीन्द्र खड्का, गजित विष्ट, गम्भीर विष्ट, सुनिल सिलवाल, खुस्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायतका नयाँ र पुराना चर्चित कलाकारको अभिनय छ।
विज्ञापन क्षेत्रमा लामो समयदेखि लागेका पौडेलको स्वरमा रहको गीतमा मनिष पौडेलको निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी, महेश पौडेलको छायांकन तथा माधव थापाले छायांकन तथा व्यवस्थापन गरेका छन्। गीतलाई चाँडै सार्वजनिक गरिने बताइएको छ।
पौडेलकै रचना रहेको गीतलाई मोहित मुनालले सङ्गीत भरेका छन्। ३५ वर्ष अघि हलिउड र बलिउडका विभिन्न गीतलाई नेपाली शैलीमा परिमार्जन गरी गायन यात्रा सुरु गरेका पौडेलको ‘फेसन यो हो फेसन’ भन्ने गीत निकै चर्चित रहेको थियो। उनका ह्याप्पी लाईफ, सलल बगेको गण्डकी लगायतका गीतहरु चर्चित छन्।
हालैमात्र पौडेलले नेपालमा विज्ञापनको इतिहास र वर्तमान अवस्था समेटेर विज्ञापनको इतिवृत्तान्त र यस पेशा र क्षेत्रप्रति आफ्नो अनुभव समेत समेटेर एक पुस्तक ‘वेलकम आरोह अवरोह’ प्रकाशन गरेका थिए।


