काठमाडौं- सलमान खान र कबीर खान भारतीय सिनेमाका दुई सबैभन्दा प्रसिद्ध नाम हुन्। यो जोडीले यसअघि ‘एक था टाइगर’, ‘बजरंगी भाइजान’ जस्ता ब्लकबस्टर फिल्ममा एकसाथ काम गरेका छन्। वर्षाैं देखि एक फिचर फिल्ममा दुवैको मिलनको माग दर्शकले गरिरहेका छन्। बलिउड हंगामाका अनुसार यो जोडी फेरी एकसाथ देखिने तयारीमा छन्।
‘कबीरले सलमानलाई एक यस्तो स्क्रिप्ट दिएका छन्। जुन सलमानको जीवनसँग नजिक छ। फिल्मको त्यो पात्र सलमानका अलवा कसैसँग फिट नहुने कबीरको बुझाइ छ। यो फिल्ममा अन्य स्टारलाई साइन गर्न कबीर माथि दवाव पनि छ। तर कबीरको पहिलो प्राथमिकतामा सलमान छन्,’ बलिउड हंगामाले स्रोतको हवला दिँदै लेखेको छ।
कबीरले यसबारेमा सलमानसँग धेरै पटक छलफल गरेका छन्। यो महिनामा फेरी उनीहरुबीच छलफल हुने बताइएको छ। ‘सलमान पनि यो स्क्रिप्टलाई लिएर उत्साहित छन्। फिल्मको नाम बब्बर शेर राखिएको छ। यदी सलमान यो फिल्म गर्न सहमत भएमा कबीरसँग उनको यो चौथो सहकार्य हुनेछ। यसअघि सलमान र कबीरले एक था टाइगर, बजरंगी भाइजान र ट्यूबलाइटमा सहकार्य गरेका थिए,’ समचारमा भनिएको छ।
सलमान र कबीरले ‘बब्बर शेर’का बारेमा डिसेम्बर र नोभेम्बरमा छलफल गरेका छन्। कबीरले सलमानलाई जनवरीको अन्तिमसम्ममा पुरै स्क्रिप्ट सुनाउने बाचा गरेका छन्। यसबारेमा सलमान र कबीरले अबको ४५ दिनभित्र अन्तिम निर्णय लिनेछन्।


