काठमाडौं- हालै रिलिज भएको फिल्म ‘सलार’ कथामा ठूलो टकराव सिर्जना गरेर समाप्त भयो। प्रशान्त नीलले निर्देशन गरेको फिल्मको दोस्रो भाग २०२५ मा रिलिज हुनेछ। प्रभास स्टारर फिल्म २०२५ मा रिलिज हुने निर्माता विजय किरागदूरले बताएका छन्।
‘सलार २ को स्क्रिप्ट तयार छ। हामी कुनै पनि समयमा फिल्मको काम सुरु गर्नेछौं। प्रभास चाँडै फिल्मलाई फ्लोरमा लैजान चाहान्छन्। प्रशान्त पनि यही चाहान्छन्,’ उनले भनेका छन्, ‘हामी २०२५ मा फिल्म रिलिज गर्नेछौं। हामीसँग १८ महिना बाँकी छ। सलार १ बाट प्राप्त प्रतिक्रियाबाट हामी सन्तुष्ट छौं।’
उनले २० वर्षमा पहिलो पटक दर्शकले प्रभासलाई एंग्री योङ म्यानकारुपमा देखेको बताए। प्रभास धेरै खुसी रहेको र दोस्रो भागमा काम गर्न उत्सुक रहेको उनको भनाइ छ।
उनले ‘सलार १’ लाई पुरै कथाको ट्रेलरकारुपमा लिन सकिने बताए। ‘सालर १ एक झलक मात्रै हो। यसलाई ट्रेलरकारुपमा लिन सकिन्छ। यसको दोस्रो भाग एक्सन र स्केलका मामलामा धेरै ठूलो हुनेछ,’ उनले भने।
निर्देशक नीलले पनि पहिलो भागमा सबै पात्रको परिचय गराइएको र दोस्रो भागमा धेरै ड्रामा, राजनीति र एक्सन हुने बताएका छन्। ‘सलार २’मा प्रभास र पृथ्वीराज सबैभन्दा ठूला दुश्मन बन्नेछन्। खानसारको राजनीति वरिपरि फिल्मको केन्द्रीत हुनेछ।
