काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो आठ महिनाको तथ्यांकले अर्थतन्त्र सहज अवस्थामा देखाएको बताएका छन्। गत वर्षको तुलनामा सबै तथ्यांक उत्साहप्रद रहेको बताएका उनले त्यसको असर ब्याजदरमा पनि देखिन थालेको बताएका हुन्।
‘बैंकिङ प्रणालीको तरलता सहज बन्दै गएकोले माघदेखि ब्याजद घट्ने तर्फ देखिएको छ। ब्याजदर अझै घट्ने सम्भावना देखिएको छ,’ गभर्नर अधिकारीले भने। ब्याजदर घटाउन दबाब बढेसँगै गभर्नर अधिकारीले पत्रकार सम्मेलन आयोजना गरी ब्याजदरका विषयमा धारणा सार्वजनिक गरेका हुन्।
राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख प्रकाश श्रेष्ठले मूल्यवृद्धि दर पनि कम हुन थालेको बताए। उनका अनुसार हाल मूल्यवृद्धि दर ७.४४ प्रतिशतमा सीमित भएको छ। चालु आवको आठ महिनाको औषत मूल्यवृद्धि दर ७.९३ छ। असार मसान्तसम्म ७ प्रतिशत रहने उनको आकलन छ।
पछिल्लो ८ महिनामा आयात १९.१ प्रतिशत र निर्यात २९ प्रतिशतले घटेको पनि उनले जानकारी दिए। सरदरमा मासिक १ खर्ब ३२ अर्ब मासिक अर्बको आयात भइरहेको राष्ट्र बैंकको भनाइ छ।
फागुनमा १ खर्ब ४ अर्ब रेमिट्यान्स आएको बताएको राष्ट्र बैंकले ८ महिनामा औषत रूपमा ९९ अर्ब आउन थालेको उल्लेख गरे। गत वर्ष प्रतिमहिना सरदरमा ८४ अर्ब रेमिट्यान्स आउने गरेको थियो।
विदेशी मुद्राको सञ्चिति १०.७ अर्ब डलर पुगेको राष्ट्र बैंकको तथ्यांक छ। यो रकम ९.४ महिनासम्मको आयात धान्न सक्ने राष्ट्र बैंकको भनाइ छ। आयातसँगै राजश्व संकलन पनि बढ्दै जाने आकलन राष्ट्र बैंकको भनाइ छ।


