पोखरा- पोखरामा बोलेरो दुर्टनामा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बुधबार बिहान सवा ९ बजेको समयमा पोखरा महानगरपालिका-१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ जाँदै गरेको ग ३ च २६०३ न.को बोलेरो दुर्घटनामा परेको हो।
बोलेरो सडकबाट झन्डै २० फिट तल खसेको थियो। बोलेरोले नियन्त्रण गुमा सडकको दाँयातर्फ खसेको देखिएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परी चालकसहित तीन जना घाइते भएका थिए। दुर्घटना भएको करिब आधा घण्टापछि रुखमा च्यापिएको अवस्थामा उनको उद्धार गरिएको थियो।
उनीहरू तीनै जनालाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाइएको थियो। उपचारका क्रममा चालकको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा कास्की पोखरा म.न.पा. वडा नं.१८ ग्यारजाती बस्ने वर्ष ४९ को कृष्णबहादुर थापा छन्। उनलाई चिकित्सकले साढे १० बजे मृत घोषणा गरेका थिए।
पोखरा- १८ कै ६९ वर्षीया हिमकला थापा टाउकोमा चोट लागेको छ भने सोही स्थानकी ७० वर्षीया चन्द्रकला थापाको ढाडमा चोट छ। उनीहरू दुवैको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।
