काठमाडौँ- माघ ९ गतेदेखि न्युरोड क्षेत्रको पार्किङ महानगरले हटायो। यस अघि पार्किङको जिम्मेवारी लिएको निजी कम्पनी ह्विल्स ट्रुली योर्स कम्पनीसँग २०७६ सालमा भएको सम्झौताको म्याद माघ ९ गते सकिए पछि महानगरले नवीकरणसमेत गरेन।
न्युरोड क्षेत्रका व्यापारी अहिले पनि महानगरसँग असन्तुष्ट छन्। उनीहरु पार्किङ गर्न दिनु पर्ने माग राखेर आन्दोलनमा समेत उत्रेका थिए। तर, महानगरले न्युरोड क्षेत्रलाई सवारी मुक्त बनाउन लागेको योजना अघि सारेको छ।
महानगरले विश्व सम्पदा सूचीमा सूचीकृत भएको वसन्तपुर दरबार क्षेत्रलाई पर्यटकीय रुपमा अगाडि बढाउन पनि न्यूरोड क्षेत्रको सवारी व्यवस्थापन आवश्यक रहेको निष्कर्ष निकालेको छ। विभिन्न चरणमा योजना तयार पारेर काम भइरहेको महानगरका पूर्वाधार विकास सल्लाहकार सुनील लम्साल जानकारी दिए।
न्युरोड क्षेत्रमा प्रवेश गर्ने सवारी साधनका लागि धरहरा, पुरानो बसपार्कको टावर र काठमाडौँ मलको पार्किङ निःशुल्क प्रयोग गर्न पाउने छन्। आमनागरिकको सहज आवागमन, सहरी सौन्दर्य करण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना तयार गरिएको लम्सालको भनाइ छ।
उनका अनुसार सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको छ। दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) प्रणाली लागु गरिने छ र त्यसको लागि आवश्यक तयारी भइरहेको छ।
आमनागरिकलाई उपयुक्त विकल्प दिएर मात्र न्युरोड क्षेत्रमा पार्किङ निषेध गरिएको सल्लाहकार लम्सालको भनाइ छ।


