काठमाडौँ– धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ।
काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रका कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि धरहरा भवनको पार्किङ खुला गर्न लागिएको जानकारी दिएको हो।
‘यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ,’ महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘सरोकारवालासँगको समन्वयमा भोलि (आइतबार)देखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ।’
पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ। सहिद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ।
गएको दशैँदेखि छठसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो।
संरचनागत रुपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो।


