काठमाडौँ- रामेछापमा जलाउँदै गरेको शव खोलाले बगाएको छ।
शनिबार उमाकुण्ड गाउँपालिका–१, बाल्दिङ गुम्देलका ३२ वर्षीय झपटबहादुर थापाको शव जलाउँदै गरेको अवस्थामा लिखु खोलाले बगाएको हो।
लिखु–२ हाइड्रोपावर नजिकैको क्षेत्रमा जलाउँदै गरेको अवस्थामा शव खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।
शव खोलाले बगाएपनि सबै मलामी सकुशल रहेको प्रहरीले बताएको छ।
घटना भएको स्थान रामेछाप र सोलुखुम्बुको सीमाक्षेत्रमा पर्छ। प्रहरी र स्थानीयले शवको खोजी थालेका छन्।
हाइड्रोपावरको ड्यामबाट पानी ओभरफ्लो हुँदा शव बगाएको अनुमान गरिएको प्रहरीको भनाय छ।
शुक्रबार मृत्यु भएका थापाको शव पोस्टमार्टमपछि दाहसंस्कार गर्न लगिएको थियो।
