काठमाडौं- धरान उपमहानगरका मेयर हर्क साम्पाङले फिल्ममा अभिनय गरेको २४ घण्टा नबित्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने तय भएको छ। ओलीले फिल्म ‘नमेटिने घाउ’मा अभिनय गर्ने भएका हुन्। फिल्ममा ओलीले ‘प्रधानमन्त्री’को भूमिका निभाउने बताइएको छ। ओलीले अभिनय गरेको यो दोस्रो फिल्म हुनेछ। यसअघि उनले दिपेन्द्र दाहालको ‘रातो सूर्य’ मा पनि अभिनय गरेका थिए।
‘नमेटिने घाउ’मा एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा आधारित फिल्म हो। यसलाई अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्नेछन्। फिल्ममा रचना गौतम मुस्कानको भूमिकामा देखिनेछिन्। उनको यो डेब्यु फिल्म हुनेछ। उनले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन्। तुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जमा एसिड प्रहार भएको थियो ।
धरानका मेयर साम्पाङले भने शनिवार फिल्म ‘खजुरे ब्रो’मा छायाकंन गरेका छन्। उनी फिल्ममा मेयरकै भूमिकामा देखिनेछन्। फिल्ममा उनको १ मिनेट लामो अतिथी भूमिका रहने बताइएको छ।


