काठमाडौँ- नेपाल भ्रमणमा रहेका बेलायती सेनाप्रमुख जनरल सर पेट्रिक सन्डर्सले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन्।
सोमबार मन्त्रालयमा भएको भेटमा दुई शताब्दीभन्दा लामो नेपाल-बेलायत सम्बन्धबारे कुराकानी भएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ।
गोर्खा (नेपाली नागरिक)हरूले बेलायती सेनामा पुर्याएको उच्च योगदानको चर्चा गर्दै मन्त्रीले सन् १९९७ भन्दा अगाडि रिटायर भएका गोर्खा सैनिकले उठाएका समान पेन्सनलगायत विषयलाई सम्बोधन गर्नपर्ने आवश्यकता औँल्याएका थिए।
भूतपूर्व गोर्खाका मागलाई सम्बोधन गर्दा बेलायतलाई आर्थिक भार नपर्ने तर यसबाट गौर्खाहरूलाई न्याय मिल्ने भएकाले शीघ्र सम्बोधन गरिदिन सेनाप्रमुख सन्डर्ससँग अनुरोध गरे।
सेनाप्रमुखले बेलायतले पनि गोर्खाका विषयमा समाधान चाहेको बताएका थिए। साथै गोर्खाका मागलाई बेलायतले गम्भीरताका साथ लिएको बताएका थिए।
नेपालको मुख्य विकास साझेदारको रूपमा बेलायतले पुर्याएको सहयोगका लागि मन्त्री साउदले धन्यवाद दिएका थिए।
बेलायतले नेपाललाई निरन्तर सहयोग गर्ने बेलायती पक्षले बताएको छ।
नेपालले राष्ट्रसंघीय शान्ति मिसनमा पुर्याएको योगदानको बेलायती सेनाप्रमुखले उच्च प्रशंसा गरेका थिए।


